Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – दूषित पानी पिउँदा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । ताहचलका ४५ वर्षीय एक पुरुषमा केही दिनअघि हैजाको जीवाणु देखिएको हो । पेट दुखेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनमा ‘भिब्रियो कलेरा’ नामक हैजा बनाउने ब्याक्टेरिया भेटिएको पुष्टि अस्पतालले गरेको हो । प्राय: गर्मी मौसममामा  दूषित पानी पिउँदा हैजा देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च एवं सरुवारोग प्रमुख डा.शेरबहादुर पुनले बताए ।  मुख्यत: दुषित पानी पिउँदा हैजा लाग्ने भएकाले शुद्ध पानी पिउनुपर्ने उनको भनाइ छ । ‘हैजा लाग्‍ने जीवाणु फोहोर पानीमा मात्र पाइन्छ’, उनले भने, ‘अहिले उपत्यकामा देखिएको हैजा पनि दूषित पानी पिउँदा नै भएको हो ।’

हैजाका लक्षण
दूषित पानी पिउँदा देखा पर्ने हैजाको लक्षण देखिएलगत्तै उपचार नगरे संक्रमित मानिसको मृत्युसमेत हुने गर्छ । चिकित्सकहरू हैजाको लक्षण देखिनेबित्तिकै अस्पताल जानुपर्ने बताउँछन् ।

शरीरमा हैजाको जीवाणु पसेपछि प्रायजसो पातलो दिसा लाग्छ । योसँगै गोडा बाउँडिने,तारन्तार बान्ता हुने, छाला चाउरी पर्न थाल्ने,आँखा गाडिनुका साथै मुख सुक्‍खा हुने लक्षण देखिन्छ । यसका साथै रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्‍ने गर्छ । लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीको मृत्युसमेत हुने गर्छ ।

कसरी जोगिने
पानी सफा भाँडोमा राख्‍ने : पानी राख्‍ने भाँडो सफा हुनुपर्दछ । भाँडो सफा हुँदा हुँदै पनि बाहिरको धुलो र किटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ ।

उमालेको पानी पिउने : सकेसम्म पानी उमालेर पिउनु पर्छ । अझ काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ ।

सकेसम्म काँचो खानेकुरा नखाने : काँचो खानेकुरा सकेसम्म खानु हुँदैन । गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखाल्नुपर्छ।

साबुन पानीले हात धुने : बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ । सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ । खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने । साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन । त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ ।

अन्य कुरा
धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्‍ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ । यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा पीयूषको प्रयोग गर्ने र हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया