बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमको जापान उडान करिब निश्चित भए पनि प्राविधिक कारणले अलमल र ढिलाई भईरहेको अधिकारीहरुले बताएका छन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार दुई देशका उच्च व्यवस्थापकको यसै हप्ताको छलफलपछि जापान उडानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको छ । शुरुमा जापानको ओसाका उडानको तयारी गरिरहेको निगमका लागि त्यहाँको ग्राउन्ड ह्यान्डलिङ कम्पनी सीकेटीएसले अनुमति नदिएपछि त्यहाँको उडान अनिश्चित बन्न पुगेको थियो तर नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएपछि ह्यान्डलिङको सुविधा पाउने निश्चितजस्तै भएको उहाँले बताउनुभयो ।

वार्तामा भएको सहमतिअनुसार निगमले जापानको नागरिक उड्डयन ब्यूरोलाई आवश्यक कागजात उपलब्ध गराइसकेको छ । सम्भवतः आगामी हप्ता ग्राउन्ड ह्यान्डलिङको विषय औपचारिक रूपमा टुंगो लाग्ने कोइरालाले जानकारी दिनुभयो । यो विषय टुंगो लागे पनि जापान उडानको अनुमतिका लागि निगमले नियमानुसार ४५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । कहिलेकाहीँ १०–१५ दिनमै पनि अनुमति पाउन सक्ने अवस्था रहन्छ, उहाँले भन्नुभयो । जापानबाट अनुमति पाएपछि उडानसम्बन्धि मार्केटिङ लगायतका तयारी गर्दा करिब एक महिना लाग्न सक्ने उहाँले बताउनुभयो । यो सबै प्रक्रिया पूरा गर्दा उडान शुरु हुन कम्तीमा दुई महिना लाग्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

जापानले शुरुमा ओसाका विमानस्थलमा हप्तामा दुईवटा उडानको योजना बनाएको छ । त्यसपछि नारिता विमानस्थलमा पनि उडान गर्ने निगमको तयारी छ । नारितामा उडानका लागि ग्राउन्ड ह्यान्डलिङको अनुमतिका लागि आवश्यक तयारी भइरहेको कोइरालाले जानकारी दिनुभयो ।

उहांका अनुसार ओसाकामा कागजात बुझाईसकेपछि नारिताका लागि कागजात पठाउने काम हुने भएको छ। नारितामा पनि हप्तामा दुई उडान गर्ने निगमले जनाएको छ । करिब १२ वर्षअघि जापान उडान बन्द हुनुभन्दा पहिले निगमले ओसाकामा उडान गर्दै आएको थियो । उक्त विमानस्थलमा पहिले पनि उडानको अनुभव रहेकोले सहज हुने जापानको नागरिक उड्डयन ब्यूरोको सुझावलाई पनि मध्यनजर गर्दै ओसाकामा पहिले उडान गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ओसाका उडानको केही समयपछि मात्रै नारिता उडान हुने उहाँले जानकारी दिनुभयो ।
निगमले तयारी गरिरहेको उडान ओसाका भन्दा हेरके हिसाबले नारिता उपयुक्त हुने आवाज पनि उठ्न थालेको छ । ****

तपाईको प्रतिक्रिया