मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – जापानले नेपालको स्वास्थ्य क्षेत्रमा टेवा पुर्‍याउन अनुदान सहयोगलाई वृद्धि गरेको छ। चालु आर्थिक वर्षमा १६ वटा परियोजनामार्फत नेपालका विभिन्न संस्थालाई जापालने अनुदान सहयोग दिएको छ।

जापानले धनकुटा जिल्ला अस्पताललाई अक्सिजन आपूर्तिका लागि ९९ लाख रुपैयाँ अनुदान दिने भएको छ। जापान सरकारको ग्रासरुट मानवीय सुरक्षा परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्रमा अनुदान सहायता दिइएको हो। यसअघि सोही परियोजनाअन्तर्गत नेपाल क्यान्सर केयर फाउण्डेशनलाई अत्याधुनिक म्यामोग्राफी मेसिनका लागि झण्डै ८२ लाख अनुदान दिइएको थियो। दुईवटा संस्थामा गरी एक करोड ८१ लाख अनुदान सम्झौतामा जापानी राजदूत मासामिति साइगोले हस्ताक्षर गरे।

सूर्यबहादुर थापा फाउण्डेशनको अग्रसरतामा धनकुटा जिल्ला अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि जापान सरकारलाई प्रस्ताव गरेको थियो। फाउण्डेशनका अध्यक्ष सुनिलबहादुर थापाले अक्सिजन प्लान्ट जडानपछि धनकुटाका साथै तेह्रथुम, संखुवासभा र भोजपुरमा समेत अक्सिजन आपूर्ति गर्न सकिने बताए।

अक्सिजन प्लान्ट जडान धनकुटा अस्पतालका कक्षमा पाइपलाईनद्वारा अक्सिजन आपूर्ति सहज ढंगले हुनेछ। धरान र विराटनगरबाट अक्सिजन सिलिण्डर झिकाउनु पर्ने बाध्यतालाई अन्त्य हुने धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमिताभ ठाकुरले बताए।

अनुदान सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ठाकुरले धनकुटाका साथै संखुवासभा, भोजपुरलगायत पूर्वी क्षेत्रका जनताले सहज ढंगमा सेवा पाउने बताए। कार्यक्रममा जापानी राजदूत साइगोले अक्सिजन प्लान्ट जडानपछि बिरामीका साथै चिकित्सक एवं नर्सलाई उपचारमा सहयोग पुग्ने बताए।

तपाईको प्रतिक्रिया