आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – लामो समयदेखि पाल्पालाइ कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ ।

पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग गर्दै आउनुभएका ओकेबाजेलाई शैक्षिक संस्था, बालक्लब, युवाक्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सङ्घसंस्थाले अभिनन्दन गरेका हुन् । उहाँले चार वर्षअघि नै नेपालका लागि आवासीय प्रवेशाज्ञा प्राप्त गर्नुभएको छ ।

बाजेले पाल्पामा रहेर सेवा गरेको साढे दुई दशक भएको उपलक्ष्यमा सम्मान गरिएको अभिनन्दन समितिका सदस्य लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो । उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा बिताउनुभएको योगदानको कदरस्वरुप पाल्पालीले अभिनन्दन गरेका हुन् । कार्यक्रममा जापानका ७० भन्दा बढी नागरिकको सहभागिता थियो ।

नेपाल घुम्न आउनुभएका ओकेबाजे २५ वर्षअगाडि पाल्पाको पूर्वखोला गाउँपालिका-२ जल्पाको ढोलीमारामा बास बस्न पुग्नुभयो । त्यहाँ बसोबास गर्ने बालबालिकाको दयनीय अवस्था, अशिक्षा, गरीबी देखेपछि उहाँको मनले यहीँ बसेर सेवा गर्ने सोच राखेर त्यस समयदेखि नै उहाँले पाल्पालाई कमर्थलो बनाएर काम गर्न थाल्नुभयो । ‘गरीब, विपन्नलाई सहयोग गर्न पाउँदा मलाई निकै खुशी लाग्छ, समाजसेवामा अझै खटिरहन्छु,’ उहाँले भन्नुभयो ।

आर्थिक समस्याले विद्यालयसम्म पुग्न नसकेका बालबालिकालाई शिक्षा दिने, औषधि उपचार, विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्नुभयो । उहाँको करीब दुईसय विद्यालय भवन निर्माणमा सहयोग गर्नुभएको छ । जापानका विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम जुटाएर गरीब, असहाय, दलित परिवारको शिक्षा, औषधि उपचार, भवन निर्माण, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्र सहयोग पुर्याउनुभएको छ ।

सन् १९३९ मा जापानको टोकियोमा जन्मनुभएका ओकेबाजेले त्यहाँको एक बासिदा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । उहाँले २३ वर्षसम्म टोकियोमै अध्यापन गरेर अवकाश पाएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गर्नुभएको हो । उहाँले आफ्नो पेन्सन जति सबै गरीब, विपन्न परिवारको लालनपालन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्चंदै आउनुभएको छ ।

कार्यक्रमका अवसरमा जापानी र नेपाली संस्कृति प्रदर्शन गरिएको थियो । ओकेबाजे गरीब, दुःखी, विपन्न, असहाय वर्गको सहारा बन्नुभएको छ । उहाँले यहाँका निम्न, दलित, विपन्नवर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । शुरुमा नेपाली भाषा नबुझेपछि नागरिकले जे सोधे पनि ‘ओके-ओके’ भनेर जवाफ फर्काउने गर्दा पाल्पालीले उहाँको नाम नै ओकेबाजे राखिदिएका हुन् । ओकजेबाजे अहिले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ ।

तपाईको प्रतिक्रिया