काठमाडाैं – कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।
वर्गीकृत विज्ञापन
‘कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ,’ मन्त्रालयले जनाएको छ । मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ । हाल साउदी अरेबीयाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ ।
यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले पनि समावेश छन् । कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ । दोहाले भने उक्त आरोपहरु अस्वीकार गरेको छ । सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाई छ ।
सन् २०१८ मा पनि ग्यासको धनी राष्ट्र कतारले १२ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो । गत वर्ष कतारको तुलनामा साउदी अरेबीयाले ११ अर्ब डलरको ऋणपत्र मात्र बिक्री गरेको थियो ।