काठमाडाैं – अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।
उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन् । एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।
जेनरले फोर्ब्सलाई भनिन्, ‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ ।’ ‘तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा
सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन् । उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।
तर फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । फोर्ब्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ । फेसबुकले गोपनीयतासम्बन्धी प्रकरणहरूमा सङ्घर्ष गरिरहँदा एकचोटि जुकर्बर्गको शेअरको मूल्य एकतिहाइले घटेको थियो ।उता अमेजनको शेअरको मूल्य बढ्दा त्यसका संस्थापक बेजोसको ब्याङ्क खाता बढाएको छ र दोस्रा धनी बिल गेट्ससँगको दूरी थोरै बढाएको छ । बीबीसीले उल्लेख गरेअनुसार माइक्रोसफ्ट संस्थापक गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब डलरबाट बढेर ९६.५ अर्ब डलर पुगेको छ ।
फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन् । आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन् । उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको बताइन्छ । आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो । सबैभन्दा धेरै अर्बपति अमेरिकाका ६०७ जना छन् भने त्यसपछि चीनका ३२४ जना छन् ।
यसैगरी विनोद चौधरी अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा छन् । उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।