Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024
महिलाहरूको औसत उमेर नेपालसहित संसारभरनै पुरुषभन्दा बढि छ

काठमाडाैं – संसारभर, महिलाहरूको ‍औसत आयु पुरुषहरूभन्दा लामो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो ।

पुरुषभन्दा महिला एक सय वर्षभन्दा बढी जिउने सम्भावना ज्यादा हुन्छ

सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३,३६४ जना थिए । उनीहरूमध्ये ९,१६२ जना पुरुष र ४४,२०२ जना महिला थिए । किन पुरुषभन्दा महिला बढी बाँच्छन् त? उनीहरूलाई केले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ ?

प्रमुख तीन कारण यस्ता छन्: –

१. जीन
मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । ती मध्ये स्वीडेन र फ्रान्सका क्रमश: सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन् । तर जापान र रुसमा बीसौं शताब्दीको मध्यबाटको तथ्याङ्क मात्रै उपलब्ध छ ।

महिलाहरूमा दुई सेट एक्स क्रोमोजोम हुन्छ

तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औ‍सत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।

भ्रूणहरू
युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, “पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन् ।” यसको एउटा कारण चाहिँ लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ । महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् ।

क्रोमोजोमा जीन हुन्छ। एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ ।

पुरुष चरामा दुई एक्स क्रोमोजोम हुन्छ

जेम्सले भने, “यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।” “पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,” एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन् । भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन् ।

२. हर्मोन
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ ।

युद्धमा पुरुषहरू महिलाहरूभन्दा धेरै मर्छन

बीबीसीले उल्लेख गरेअनुसार धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ । विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् ।

केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए । तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको ‍औसत उमेर ७० वर्ष पाइएको थियो । त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो ।

धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् । महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ ।

महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ

३. पेशा र आचरण
द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ। तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ । धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ ।

रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् । महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ ।

महिलाहरू पुरुषभन्दा बढि अस्पताल पुग्छन्

महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन् ।

खाडल पुरिदै
हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन् ।

ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ

इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ । अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ । प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।

तपाईको प्रतिक्रिया