Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – तेस्रो मुलुकबाट आयात गरिने सामान सिधै नेपाल ल्याउने व्यवस्था इसिटिएस प्रणाली लागु हुन लाग्दा नेपालका लागि तेस्रो मुलुकबाट ल्याइने सामान कोलकातामै अड्किएका छन् । नेपाली सरकारी अधिकारीहरुका अनुसार उक्त प्रणाली आउँदो फागुन ३ गतेदेखि लागु हुनेछ ।

तर सोही प्रणालीको विरोध गर्दै नेपाली सामान आयातकर्ताहरूका एजेन्टले कोलकातामा हड्ताल गरेका कारण नेपाली सामान बन्दरगाहमै अड्किएका हुन् । तेस्रो मुलुकबाट नेपाल आउने सामानका कन्टेनरको कोलकाता बन्दरगाहमा ‘कार्गो ह्यान्डलिङ एजेन्ट’हरूले भन्सार जाँचपास गराउने काम नगरिदिएपछि विगत सात दिनदेखि नेपालका लागि आएका सामानका कन्टेनर कोलकाता बन्दरगाहमै रोकिएको नेपाली अधिकारीहरू बताउँछन् ।

‘इसिटिएस’ के हो ?
इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम कोलकाता बन्दरगाहबाट नेपाल सामान ल्याउनका लागि पहिलो पटक लागु गर्न लागिएको प्रणाली भएको कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले बताए । उक्त प्रणाली लागु भएपछि कोलकातामा अहिलेसम्म लाग्ने कागजी झन्झट सबै समाप्त हुने उनको दाबी छ ।

बीबीसीका अनुसार नेपालबाट सामान आयातकर्ताहरूले ८ वटा स्थानमा सामान आयात सम्बन्धी सक्कली कागजात पेश गरेपछि मात्र कोलकाताबाट सामान नेपाल ल्याउन पाइन्थ्यो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार अब यी कागजी प्रक्रिया समाप्त हुनेछ । उनले भने, ‘हामीले यो प्रणाली विशाखापट्नममा पहिलादेखि नै लगाएका छौँ । तर कोलकातामा पुरानै परम्पराले सामान ल्याइँदा नेपालले बर्सेनि धेरै पैसा कन्टेनरका विलम्ब शूल्क वापत बुझाउनु पर्‍यो ।’

उक्त प्रणाली लागु भएपछि कन्टेनरमा सीमकार्डको प्रयोग हुने सैंजुले जानकारी दिए। जस्ले गर्दा सामानका कन्टेनर कहाँ पुगेको छ भन्ने कुरा कन्टेनरको सरोकार राख्नेले थाहा पाउनेछन् ।कोलकातामा हड्ताल
भारतको कोलकाता तथा हल्दिया बन्दरगाहबाट सिधै सामानका कन्टनेर नेपाल ल्याउने इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको व्यवस्था गरिन लाग्दा कार्गो ह्यान्डलिङ एजेन्टहरूले आफूहरूको रोजीरोटी गुमेको भन्दै आन्दोलनमा उत्रिएको महावाणिज्य दूत अर्यालले बताए ।

उनले भने, ‘हाम्रो रोजीरोटी खोसियो, हाम्रा कामदारहरूको भविष्य के हुने, नेपाली व्यापारीसँग हाम्रो करोडौँ रुपैयाँ के हुन्छ भन्ने मागहरू राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।’ इसिटिएस लागु भएपछि बन्दरगाहमा ती एजेन्टहरूको भूमिका समाप्त हुने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैंजुका अनुसार कोलकाताको आन्दोलनले केही दिन कोलकाताबाट सामान नेपाल आउन अवरोध हुनसक्छ ।

कोलकातामा नेपाली सामान ढुवानीमा अवरोध भए त्यस्को विकल्प नेपाल सरकारले खोज्ने सैंजुको भनाइ छ । उनले भने, ‘अब पहिलाको जस्तो एउटा बन्दरगाहमा मात्र भर पर्नु पर्ने अवस्था छैन। हामीसँग विशाखापटनम बन्दरगाह छ जहाँ अगाडि नै इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली लागु भइसकेको छ । कोलकाताबाट हाम्रा सामान त्यता डाइभर्ट गर्छौं ।’

तपाईको प्रतिक्रिया