शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – म्याग्दी मल्कबाङका झकप्रसाद छन्त्याल अहिले समदरमुकाम बेनी बजार झरेर जापानी भाषा पढ्न थालेका छन् । ब्यवस्थापन संकायमा स्नातक गरेर गाउँमै हल्लिएर बसेका उनलाई जापानी भाषा पढेपछि रोजगारीका लागि सजिलै जापान जान पाईने बिषयले एकाएक ध्यान खिचेपछि उनले दायाँबायाँ केही नसोची यो बाटो रोजेका हुन् । थप उच्च शिक्षा हासिल गर्ने, लोकसेवा दिएर सरकारी जागीर खाने, नेपाली सेना वा प्रहरीमा जाने जस्ता बिषयले उनलाई कहिलै आकर्षित गरेन । जसरी हुन्छ अलि स्मार्ट देशमा गएर बैदेशिक रोजगारीमै जाने उनको पहिलो सपना पुरा गर्न जापानमा खुल्ने भनिएको नयाँ रोजगारीमा उनको आँखा परेको हो र सोही बमोजिम जापानी भाषाको कखरा सिक्न डेरा नै जमाएर सदरमुकाममा झरेका हुन् ।

यता बागलुङ भुजिखोलाका सन्तबहादुर सुनारको पनि हालत उस्तै छ, राजानीति शाष्त्र संकायमा माष्टर डिग्री पढ्दै गरेका उनी सबै छोडेर जापानी भाषा पढ्न बागलुङ बजारमा डेरा लिएर बसेका छन् । उनी मात्रै नभएर उनका गाउँका मात्रै अहिले बागलुङ बजारमा जापानी भाषा पढ्नेहरुको संख्या दर्जनौ छ ।
यता स्याङ्जा चिलाउनेबासका नम्रता चौलागांई हुँदाखाँदाको शिक्षण पेशा त्यागेर जापानी भाषा सिक्न सदरमुकाम स्याङ्जा बजारमा अड्डा जमाएर बसेकी छिन् । उनले रोजगारीका लागि जापान आउने अवसर नगुमाउन हदैसम्म मिहिनेत गर्ने बताउँदै भाषा पहिलो ढोका भएकोले यतातर्फ प्राथमिकता दिएको धारणा ब्यक्त गरिन् ।
यी त भए प्रतिनिधिमुलक घटना, जापानी भाषा सिकेर जापान आउने सपना बुनेका हजारौं युवाहरु अहिले नजिकको सदरमुकार झरेर भाषा पढ्न थालेका छन् । प्रायः सबैजसो जिल्लाका युवाहरुलाई अहिले यो नयाँ बिषयले तानेको पाईन्छ । तर उनीहरुलाई यो थाहा छैन कि नयाँ भिसा प्रणाली अनुसार कामका लागि जापान आउन के कस्ता मापदण्ड र मोडल तयार भएको छ र आधारभुत योग्यता के हुनुपर्दछ भन्ने कुरा ।
हल्लैहल्लाको देश नेपालमा हल्लाको खेती बढि चल्ने र हल्लाकै ब्यापार फस्टाउने गरेको यसअघिका थुप्रै घटनाहरु नजिर बनेर बसेका छन् । त्यसकारण पनि आफ्नो हिसाबले आफुलाई तयारी अवस्थामा राख्न अहिले नेपाली युवाहरु यो नयाँ बिषयतर्फ आकर्षित भएको देखिन्छ ।

विभिन्न १४ वटा मध्य कुनै एक क्षेत्रको कामको अनुभव, परीक्षा उत्तीर्ण गर्न सक्ने भाषाको लेभल र कामप्रतिको लगनशिलता र बफादारिताप्रतिको प्रतिबद्धता लगायतका प्रमुख आधार मानेर स्वयम जापानीहरु नेपाल गएर छनौट परीक्षा लिने बिषय अहिले सतहमा आएका छन् । सोही बमोजिम जापान र नेपाल दूवै देशका सम्बन्धित निकायका अधिकारीहरु यसको समग्र मोडालिटीको प्रारुप तयार पार्न घनिभूतरुपले लागिरहेको समाचार बाहिर आईरहेका छन् । दूवै देशको चिन्ता भनेको मध्यस्थताको भूमिकामा विचौलियाहरुको चलखेल नहोस् भन्नेमा केन्द्रित देखिन्छ ।

यसै पनि रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउने बिषयले देशभित्र र बाहिर नयाँ तरंग उत्पन्न गरेको छ । त्यसकारण पनि बैदेशिक रोजगार ब्यवसायीहरु र रोजगारीका लागि जापानलाई लक्षित गरेका बेरोजगार युवाहरुबीच अहिले यो बिषय हटकेक बनिरहेको छ ।

उता दुवै देशका सरकारी अधिकारीहरु यो बिषयलाई टुंगोमा पुर्‍याउन छलफललाई तीव्रता दिएका छन् । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढंगले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुंगो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याएको छैन ।

स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने नेपाल सरकारको तयारी छ ।
श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ । सोही आधारमा एक मुलुकसंग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।
यसबीचमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि जापानी राजदूतसँग पटक पटक भेट गरिसकेका छन् । छलफलका क्रममा श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधा राम्रो होस भन्ने नेपालको चाहना रहेको मन्त्री विष्टले प्रष्ट पारेका छन् ।

यदि जापान र नेपालबीच अन्तिम सहमति भएर नेपाली कामदार जापान आए भने उनीहरू जाने मोडल अहिलेसम्मकै उत्कृष्ट हुने मन्त्रालय श्रोतको दाबी छ ।
विकसित मुलुक जापान मानव अधिकारको हिसाबले निकै सुरक्षित र सामाजिक सुरक्षाको हिसाबले पनि उत्कृष्ट देश हो । अन्य ठाउँभन्दा कामदारले गर्ने मिहेनेतको पाटो एउटा भए पनि न्यूनतम तलब सुविधा, मानव अधिकारको अवस्था र अन्य सामाजिक सुरक्षाको अवस्थालगायतका हिसाबले धेरै उन्नत रहेको छ ।

वैदेशिक रोजगारका लागि जापान जान पाईने बिषयले अहिले नेपाली युवाहरुमा जापानी भाषाको मोह निकै बढेको पाईएको हो । त्यसैले गाउँगाउँबाट बेरोजगार युवाहरु सदरमुकाम झरेर जापानी भाषा अध्ययन गर्न थालेका हुन् । भाषा सिकिराखे जापान रोजगार खुल्ने बित्तिकै जान पाइने बुझाई उनीहरुको छ । वैदेशिक रोजगारका लागि जापानका विषयमा अन्य विवरण सार्वजनिक गरे कन्सल्टेन्सीले जापानी भाषालाई कमाई खाने भाँडो बनाउन सक्ने भएकोले सोप्रति सचेत रहेको अधिकारीहरुले बताउँदै आएका छन् ।
उसो त जापानी भाषाको कोर्स के हुने, कुन-कुन क्षेत्रका लागि कामदार कति लैजाने, भर्ना प्रक्रिया कस्तो हुने कुनै टुंगो नलाग्दै केही ब्यवसायीहरु धमाधम विज्ञापन छपाएर आफ्नो ब्यवसाय प्रवर्धन गर्न लागिपरेका छन् ।

अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा कामदार लैजाने विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेको छ ।
जापान आगामी अप्रिलदेखि कामदार आफ्नो देश भित्र्याउने योजनामा छ । विदेशी कामदार भित्र्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । जसअनुसार नर्सिङ केयर, रेष्टुरेन्ट, कृषि, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

आगामी ५ वर्ष भित्रमा कम्तीमा ३ लाख ४५ हजार १ सय ५० आप्रवासी कामदारलाई रोजगार भिसाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापान सरकारको लक्ष्य रहेको छ । सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेष्टुरेन्टका लागि भाषा परीक्षा लिईने योजना छ । बाँकी ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताईएको छ ।
नेपाली कामदारलाई जापानी श्रमबजारमा खुल्ला गरिएको भएपनि कुन मोडलमा र कसरी भित्र्याउने भन्ने बारे अझै अन्तिम टुंगो नलागेकोले बजारी हल्लाको पछाडि नलाग्न नेपाल सरकारले पटक पटक सचेत गराउँदै आएको छ । नेपाली कामदार पठाउने सन्दर्भमा कुनै पनि हालतमा विचौलियाहरुको चलखेल हुन नपाओस् र कामदारहरु ठगिनबाट जोगियून भन्ने बिषयमा दूवै देशका अधिकारीहरु सचेततापूर्वक गृहकार्य गरिरहेको स्रोतको दावी छ । संभवभएसम्म जि-टू-जि मोडलमा र नभए दूवै देशका सरकारले अर्को अधिकार प्राप्त शक्तिशाली संयन्त्र खडा गरी त्यसैमार्फत कामदार पठाउने र भित्र्याउने मोडल हुन सक्ने प्रवल संभावना रहेको जानकारहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया