काठमाडाैं – श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ ।
अर्थ मन्त्रालयका प्रवक्ता एम. आर. हसनले राजमार्ग निर्माण सम्बन्धी ऋणका शर्तहरु स्वीकृत हुने अपेक्षा गरिरहेको बताउनुभयो । श्रीलङ्काले हालैका वर्षहरुमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनीया ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ ।
तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ । चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो ।