शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – कलात्मक एवं गहकिला शब्दमा उनिएका मार्मिक लोकभाका ’माकुरी’ अहिले बजारमा चर्चामा छ । सुमधुर स्वरमा गुञ्जायमान माकुरी मायाप्रीति र वियोगान्त कथामा आधारित छ । सर्जक रमेश विजीको यो अर्को सबैको मन छुने गीत बन्न सफल छ । अत्यन्तै मर्मस्पर्शी यस गीतमा कुमार पुन र जमुना रानाको आवाज खुबै जमेको पाईन्छ । विजीका यसअघि बजारमा आएका थुप्रै गीतहरु पनि अरु औसत गीतहरु भन्दा धेरै मन पराईएका छन् । बामरी, लाछा डोरी उनैको लगायतका बिजीका गीतहरु पनि गायक पुनले नै गाएका छन् ।
शब्द सिर्जनामा मिहिन ढंगले खेल्न सक्ने छुट्टै पहिचान र उचो कद बनाएका सर्जक विजी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
असाध्यै ओझपूर्ण र सटिक शब्द संयोजनले गीतलाई भरपुर मिठास प्रदान गरेको छ । विछोडिएका जोडीबीचको वियोगान्त गाथालाई चरित्रचित्रण गरिएको यस गीतमा यति धेरै माया हुँदा हुँदै पनि संगै हुन नपाएकोमा आलाप गरिएको छ, जसरी डाँडैको एक्लो लाँकुरी र जालमा परेको माकुरी एक्ली हुन्छिन् । मायामा धोका खाएर विछोडिनु परेकाहरुका लागि गीतमा एकपछि अर्को मन छुने शब्दवाणीहरुले एकछिन सोच्न बाध्य तुल्याउँछ । जति सुन्यो उति सुनिरहुँ लाग्ने र गहिराईमा डुब्न बाध्य बनाउने यस गीतको म्युजिक भिडियोमा स्वयम विजी र गायिका रानाले अभिनय गरेका छन् ।

खेम सेञ्चुरीको संगीत र विनोद बाजुरालीको संगीत संयोजनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा) ले गरेकीछिन् ।

के पाका, के तन्नेरी पुस्ता वा केटाकेटी सबै उमेर समुहका लोक पारखीहरुको अन्तरआत्मालाई छुने र सुन्न एवं गुनगुनाउन मिल्ने यस प्रकारका खाँटी लोकलयमा आधारित मौलिक विशेषता भएको गुणस्तरिय गीतहरु नेपाली सांगीतिक बजारमा विरलै उत्पादन हुने गर्दछन् । संख्यात्मक भन्दा थोरै भएपनि गुणस्तरिय यस्ता सिर्जना कालजयी हुने गरेको इतिहास साक्षी छ ।
रातारात चर्चा बटुल्नका लागि उत्पादन गरिने तर चिरस्थायी हुन नसक्ने उट्पट्याङ शैलीका गीत भन्दा नेपाली साँगीतिक दुनियाँमा कालान्तरसम्म जनजिब्रोमा झुण्डिईरहने यस्ता गीतहरु नै वास्तवमा नेपाली माटोका सुगन्ध बन्ने गरेका छन् ।

लोकको जीवनशैली, दिनचर्या र जीवन भोगाईको गर्भबाट लोकभाका उम्रने हुन्, त्यसलाई सर्जकले टपक्कै टिपेर वजनदार शब्दमा उनेर गीत बन्ने गर्दछन् । करीव १० मिनेट १३ सेकेण्डको समयसिमा भित्र बाँधिएको माकुरीमा शब्दसंयोजनको सिलसिला यसरी सटिक धारमा बगेको पाईन्छ ।
जमुनाः  तिम्ले बानी, पारेकी रैछु म,
एक्लै बस्न नसक्ने भैछु म,
नबतास हुरी, शुन्य भयो डाँडैको लाँकुरी,
काँ गयौ माकुरा एक्लै भयो जालैको माकुरी
कुमार: झर्दा पनि, बोटको पात भुंईतिर
तिमी आए झै मान्छु मैतिर
नबतास हुरी, शुन्य भयो गैह्रीको लाँकुरी,
कर्मैमा रैनछ, संगै हुन पाईएन माकुरी

जमुना : जहाँ भएनि, एकचोटी आउ बरु,
बाँकी प्राण खिचेर जाउ बरु,
नबतास हुरी, शुन्य भयो डाँडैको लाँकुरी…..
कुमारः संसार देख्ने, घाम र जुनैले
हाम्रो माया देखेनन् उनैले
नबतास हुरी, शुन्य भयो गैह्रीको लाँकुरी…..

जमुनाः भन्थ्यौ आँशु, दिन्न म चुहाउन
रैछ र पो चौधारा रुवाउन
नबतास हुरी, शुन्य भयो डाँडैको लाँकुरी…..
कुमारः मपनि त, आँशुकै तालमा छु
संगसंगै बुनेको जालमा छु
नबतास हुरी, शुन्य भयो गैह्रीको लाँकुरी…..

तपाईको प्रतिक्रिया