Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

गलेश्वर – बेनी-बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । रच्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवकयुवती र सर्वसाधारण भुलिरहेका छन् ।

रत्नेचौरमा तोरीबारीमा रमाउन ठाउँठाउँबाट आन्तरिक पर्यटक आउन थालेका छन् । गहुँको हरियाली र तोरीको स्वर्णिम रङ्गमा रत्नेचौर अत्यन्त आकर्षक देखिएको रत्नेचौरमा रमाउन पुगेको बेनीका पत्रकार राकेश शर्माले बताउनुभयो । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर गाउँ अहिले तोरीखेतीको केन्द्र बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको धौलागिरि, नीलगिरि हिमाल अनि बीचमा समथर फाँट रत्नेचौरमा माघ-फागुनमा देखिने तोरीबारीको पहेँलो दृश्यले जोकोहीलाई आकर्षित गर्ने गरेको छ । तोरीबारीमा रमाउन अहिले रत्नेचौरमा बेनी, बागलुङ र कुश्माबाट युवकयुवती आउन थालेको स्थानीयवासी मोहन महतले बताउनुभयो ।

रत्नेचौर अहिले पर्यटकीय गाउँका रूपमा समेत विकसित हुँदै गएको बेनी नगरपालिका-१ का अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । राजा गीर्वाणयुद्धको चिनोस्वरूप रहेको बूढो पोखरी, उत्तरतर्फ चाँदीझैं टल्कने हिमशृङ्खला, पूर्वतर्फ कलकल बगेको कालीगण्डकी, दक्षिणतर्फ ढाडेनी खोला र त्यसको पारिपट्टि देखिने बागलुङका कुडुले, फेदी र धार्मिक पर्यटकीयस्थल पञ्चकोटले रत्नेचौर पुग्ने जोकोहीलाई पनि लोभ्याउने गरेको उहाँले बताउनुभयो ।

तोरीखेतीकै कारण रत्नैचौरमा प्रशस्त सम्भावना थपिएका छन् । सबैभन्दा प्रबल भनेको पर्यटकीय सम्भावना नै रहेको स्थानीयवासी विक्रम बोगटीले बताउनुभयो । ‘रत्नेचौरमा पछिल्लो समय धेरै आन्तरिक पर्यटक आउन थालेका छन्, व्यवस्थित होटल र लजको आवश्यकता देखिएको छ’, बोगटीले भन्नुभयो । तोरीखेतीकै कारण रत्नेचौरमा सम्भावनाको वृद्धि हुँदै गएको भए पनि सरकारी निकायले तोरीखेती गर्ने किसानलाई कुनै सहयोग नगरेको किसानको भनाइ छ । तोरीखेतीका लागि उपयुक्त ठाउँ भनेर चिनिने रत्नेचौरमा कृषि ज्ञान केन्द्रले समेत कुनै सहयोग नगरेको स्थानीयवासीको गुनासो छ ।

‘गाउँको बीचमा पहेँलपुर तोरी फुलेको छ, यहाँ आउने आन्तरिक पर्यटक खुशी हुँदै फोटो खिच्ने गरेका छन्’, स्थानीय भरत खत्रीले भन्नुभयोे, ‘रत्नेचौरको सौन्दर्य देखेर सबै लोभिएका छन् तर सरकारी निकाय र सरोकारवाला भने यसको विकासका लागि बेखबर बनेका छन् ।’

रत्नेचौरमा उत्पादन हुने तोरी तथा तरकारी खेती गर्ने किसानलाई वडा र नगरपालिकाबाट सहयोग गरिने वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । ‘हामीले नगरपालिकाले ‘एक वडा एक उत्पादन क्षेत्र’ कार्यक्रमअन्तर्गत रत्नेचौरलाई तोरी र तरकारी खेतीका लागि सिफारिश गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख आएर यहाँको भूभाग हेरेर जानुभएको छ, अब छिट्टै राहत पाउँछन् ।

तपाईको प्रतिक्रिया