बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

२८ वर्षको जापानको लामो बसाईलाई बिट् मार्दै आफ्नो गाउँ फर्केर मोहनसिंह लालचन मुस्ताङको मार्फामा होटल ब्यवसायमा लागेका छन् । कमाउनकै लागि उनले आफ्नो थातथलो रोजेका भने हैनन् । जापानमा उनको आफ्नो ब्यवसाय यथावत छ । छोराबुहारी र छोरी जुवांई यतै भएकोले बेला बेलामा उनी छोटो समयका लागि जापान आउने गर्दछन् । काठमाडौं र पोखरामा पनि उनको आफ्नै घरमा अरुले होटल चलाएका छन् । चाहेको भए उनले काठमाडौं या पर्यटकको राजधानी भनेर चिनिने पोखरामै होटल चलाउन सक्थे तर उनी आफ्नै गाउँ मार्फामा फर्केर अहिले होटल मार्फा प्यालेस सञ्चालन गरिरहेका छन् । उनी भन्छन् – ’कमाइको हिसाबले सहरमा भन्दा गाउँमा आकार सानो होला तर त्यसले पार्ने दीर्घकालिन प्रभाव र प्राप्त हुने सन्तुष्टि सबैभन्दा महत्वपूर्ण कुरो हो ।’

आफु जन्मेको गाउँमा थोरै भएपनि केही चेञ्ज गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफुले गाउँमा बस्ने निर्णय गरेको लालचन बताउँछन् । मार्फा बजारको मेन रोडभन्दा थोरै भित्र गाउँले परिवेशमा उनको मार्फा प्यालेसमा सुविधायुक्त २५ वटा बेडरुम छन् । बाह्रै महिना तातो चिसो पानी, स्थानीय खानाका साथै जापानी खानाका मेन्यू र गाउँले परिवेश उनको होटलको विशेषता हो । उनकी श्रीमतीले होटल सञ्चालनको मुख्य जिम्मेवारी सम्हालेकी छिन् । आफ्नै बारीमा उत्पादन भएका अर्ग्यानिक सागसब्जी, स्याउ र स्याउबाट बनेका परिकार, याकको सुकुटी, लोकल खसी, च्याङ्ग्रा, कुखुराको मासुको स्वाद मार्फा प्यालेसमा आउने पाहुनाले चाख्न पाउँदछन् । लालचन आफै डोको बोकेर स्याउ टिप्न जान्छन्, बारीमा मलजल, खनजोत आफै गर्छन्, मार्फाको परिचय स्याउबाट उत्पादन गर्न सकिने थप परिकार बारे पनि उनी अध्ययन गरिरहेका छन् । आफै डोको बोकेर स्याउ टिप्दा र हलो जोत्दा गाउँलेहरुले जिस्काएको अनुभव पनि उनले सुनाए । उक्त तस्विर फेसबुकमा राखेपछि अहिले उनी मिडियामा पनि छाउन थालेका छन् ।
लालचन भन्छन् – गाउँमा संभावना धेरै छ, आफुले सिकेको सीपलाई केही फरक तरिकाले गर्न सकेमा गाउँमा गर्न सकिने अवसर धेरै छन् । मर्निङ वाकमा जाँदा होस्, वा कुनै काम विशेषले कतै जाँदा बाटाभरि चिनेजानेका मिजासिला गाउँलेहरुसंग संवाद गर्नुको मजा नै अर्कै हुन्छ । आफ्नो गाउँमा जस्तो भावनात्मक आत्मियता संसारमा अन्त कतै पाईदैन ।मार्फालाई पर्यटनसंग जोड्ने लालचनले आफ्नो योजना सुनाए । मार्फा पुग्नै लाग्दा आँखै अगाडि ठोक्किने अग्लो पहरोमा नेपाली सेनाको सहयोग लिएर उनले आफ्नै खर्चमा टाढैबाट देख्न सकिने गरी ठूला ठूला अक्षरमा ’वेलकम टु मार्फा (WELCOME TO MARPHA)’ लेख्न लगाएका छन् । जुन उनको वर्षौ पहिलेको ईच्छा थियो रे । मार्फा भएर आउने पर्यटकहरुलाई मार्फामा अलमल्याउन अवलोकनका लागि नजिकैको एउटा अग्लो डाँडोमा स्याउ आकारको एउटा ’वाईण्ड भ्यू टावर’ बनाउने उनको योजना छ । जुन डाँडोमा असाध्यै हावा लाग्ने भएकोले त्यसको नाम ’वाइण्ड भ्यू टावर’ राखिने उनले बताए । त्यसका लागि उनले गाउँलेहरुसंग सल्लाह गरेर जमिनको बन्दोबस्त मिलाईसकिएको उनी बताउँछन् । त्यहाँ पुग्नका लागि पदमार्गको निर्माण गरिने, टावरको वरिपरि हरियाली एवं रंगीचंगी फूलहरुको गार्डेन रहने र जहाँबाट मार्फा लगायत आसपासका सबै बस्ती र पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिने उनको योजना सुनाए । गाउँ अब गाउँ जस्तो रहेन । बत्ति, पानी, यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार, इन्टर्नेट सबै पुगिसकेको छ, अब सहर के का लागि ताक्ने ? उनी प्रश्न गर्छन । गाउँलेहरुमा चेतनाको स्तर अहिले यति धेरै माथि आईसकेको छ, उनीहरुलाई अगुवाई गर्ने पात्रको मात्र खाँचो छ । शायद धेरैजसो गाउँहरुमा यहि समस्या हुनुपर्छ । गाउँको मौलिकता बेचेर अब पर्यटक आकर्षित गरिनुपर्ने उनको जिकीर छ । उनी दावाका साथ भन्छन् – यो संभव छ । पोखरामा एक जना किशोरले जंगलको ऐसेलु टिपेर कलेजको खर्च जुटाउन सक्छ भने मार्फाका युवाहरु आफ्नै बारीमा लटरम्म फलेका सुन्दर स्याउ बेच्न लजाउँछन्, यो सँस्कारलाई तोड्न पनि अब हामीबाटै केही न केही त सुरु गर्नुपर्छ, काममा कुनै सानो ठूलो हुँदैन र कामलाई सम्मान गर्ने जापानमा सिकेको सँस्कार आफ्नै गाउँमा सुरु गर्न चाहान्छु – लालचनले अगाडि थपे । देशमा यो भएन, त्यो भएन, नेताले देश बिगारे भनेर दिनहुँ देशको चिन्तामा रोइलो काढ्नेहरुको संख्या बढ्दो छ । अझ विदेशमा बस्ने केही जानेबुझेका बुज्रुक नेपालीहरुले त बिहान उठेदेखि साँझसम्म यसैमा बढि समय खर्चिरहेका हुन्छन् । एक हदसम्म यो स्वभाविक भएपनि मलाई के लाग्छ भने ‘देशको चिन्ता गर्नु भन्दा पहिले आफ्नो देशको लागि मैले के गरे ?’ भनेर चिन्ता गर्नुपर्दछ । म ठोकुवाका साथ भन्न सक्छु, जसले जे सकिन्छ आ-आफ्नो तर्फबाट सानै भएपनि केही गरौं देश उभों लाग्न बेर लाग्दैन । सबैले आफ्नो कमाईको थोरै भए पनि आफ्नै गाउँमा लगानी गरौं । गाउँसंगको सम्बन्ध पनि जोडिने, गाउँमा थोरै भए पनि लगानी भित्रिने त्यसबाट रोजगारी पनि सिर्जना हुने, गाउँले पनि खुशी, आफु पनि खुशी यो भन्दा अरु के चाहियो ? विदेशमा जति बसे पनि स्वदेश हुँदैन, आफ्नो माटोको बास्ना पराईभूमिमा मरिगए भेटिदैन । गाउँको बिकास भए स्वतः देशको बिकास हुने हो । गाउँलाई हामीले माया नगरे कसले गर्ने ? हाम्रा भावी पुस्ताका लागि पनि गाउँसंगको नाता टुटाउन हुँदैन । त्यसैले आफ्नो गाउँको घर बेच्नु हुँदैन । तपाईको खास मौलिक परिचय त्यसैमा छ, अरु त सबै कृत्रिम र तपसिलका कुरा हुन् । गाउँमा हामीलाई फलानोको नाती, फलानोको छोरो भनेर चिन्ने गर्दछन् । आफु जन्मेको, हुर्केको, बढेको, पढेको घर झुपडी नै भए पनि तपाईको लागि त्यो सबैभन्दा ठूलो सम्पति हो, पवित्र मन्दिर हो । त्यसो भएकैले हाम्रो मानसपटलमा पनि आफु जन्मेको थातथलोका तस्विर सँधै ताजा हुने गर्दछन् । आफ्ना पूर्खाको सुवासिलो गन्ध र अमूल्य चिनो त्यहि थातथलोमा मात्र पाईन्छ, जहाँ आफ्नो जन्म भएको थियो । पछि किन्न चाहेर पनि त्यो कहिलै पाईँदैन । बरु मर्मत संभार गरेर राख्नुस्, कहिलेकाँही जाँदा त्यही बस्ने गर्नुस् त्यही सुत्नुस् तपाईले सपना नै अर्कै देख्नुहुने छ । हतारमा गाउँको घर-जग्गा बेचेर अहिले पछुताउनेहरु धेरै भेटेको छु । आफुले लडिबुडि गर्दै खाईखेलेको घरभित्रका चोटा, कोठा, भण्डार, कौसी, बार्दली अनि पिंढीमा बसेर आफ्ना मान्यजनको स्मरण गर्नुस्, त्यतिबेला अनुभूत हुने स्वर्णिम आनन्द सहरका गगनचुम्बी महलमा बसेर कदापि प्राप्त हुँदैन । उसो त सहरमा तपाईलाई कसैले चिन्दा पनि चिन्दैनन्, चिने पनि भावनात्मक आत्मियता पटक्कै हुँदैन । गाउँको बिशेषता नबुझेर हामी पछाडि परेका हौं – लालचनले भने । लालचनले ८ वर्षअगाडि आफ्नै लगानीमा बृक्षारोपन गरेका मार्फाको नजिकै रहेको नांगो डाँडो अहिले हरियाली भएको छ । गरे के हुँदैन भन्ने कुराको पुष्टि आफैले गरेर देखाई दिएकोले अहिले गाउँलेहरुमा सकारात्मक प्रभाव परिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको सरकार छ तर उनको गाउँमा अझै मुखिया प्रथा कायम छ । गाउँको मुखियालाई सबैले मान्दछन् । स्थानीय निकायका निर्वाचित अधिकारीहरु सिफारिश गर्ने, कागजात बनाउने जस्ता कार्यमा मात्र सीमित छन् । गाउँमा के गर्ने, के नगर्ने मुखियाको अधिकार बढि हुने उनको गाउँमा गाउँलेहरुको बृहत आमसभाबाट हरेक ३ वर्षमा मुखिया फेरिन्छन् । अर्को वर्ष गाउँभन्दा टाढाको बस्तीमा आमसभा राखिएको छ । संभवत अबको नयाँ मुखियामा लालचन सर्बसम्मत हुने संकेत देखिएको छ । मुखियाको जिम्मेवारी पाएमा गाउँको लागि अझ मरिमेटेर लाग्ने आफ्नो योजना बारे उनले भित्री कुरा ओकले ।

लालचन भन्छन् – छोरा नातीसम्मका लागि कमाईदिने नेपाली सँस्कार गलत छ । जसले गर्दा हामी परनिर्भर समाज निर्माण गर्न उद्यत छौं । आफैले कमाएर खाने सँस्कारको बिकास गर्न जरुरी छ । विज्ञहरुको सल्लाह लिएर गाउँ गाउँमा संभावनाका ढोकाहरु खोल्नुपर्छ । गाउँलेहरुको आय आर्जनको साइज कसरी बढाउन सकिन्छ भन्ने बारे उनीहरुलाई सिकाउँदै जानुपर्दछ । आफ्नो गाउँको लागि आफुले पनि केही गर्नुपर्छ भन्ने बिषयमा गाउँलेहरु पनि सचेत हुनुपर्दछ । कोही न कोहीले पहल गर्नैपर्छ । कोही आएर गरिदेला भनेर आशा गरेर बस्नुहुँदैन । हाम्रा खानाको सँस्कारमा पनि परिवर्तन ल्याउन जरुरी छ । हामीले दालभात, तरकारीभन्दा अरु सोच्न सकेनौ । आफ्नै गाउँमा हुने उत्पादनलाई सोभनियर परिकार बनाएर पर्यटकलाई आकर्षित गर्नतिर लाग्नुपर्दछ । पर्यटकलाई गाउँमा भित्र्याउन गल्ली, चोक सफासुग्घर राख्नुका साथै उनीहरुलाई मैत्रीपूर्ण ब्यवहार देखाएर गाउँको छाप उनीहरुको दिमाखमा घुसाउन सक्नुपर्दछ । जापान जस्तो देशले पर्यटनमा जोड दिएको छ भने प्रचुर संभावना भएको देश नेपालले पर्यटनलाई मुख्य आधार मानेर गाउँ गाउँमा पर्यटक भित्र्याउन सक्ने हो भने रोजगारीका साथै गाउँमा आर्थिक कारोवार बढ्न जान्छ । यसका लागि ट्राभल एजेन्सीहरुले पर्यटकलाई गाउँ पठाउन प्रेरित गर्नुपर्दछ । टुर गाइडहरुले गाउँको बारेमा राम्ररी ब्रिफिङ गर्नुपर्दछ – उनले अगाडि थपे ।

हामी गाउँमा बसेर आफ्ना बृद्धा बाबुआमाको सेवा गर्‍यौं भने हाम्रा छोरानातीले पनि त्यसको सिको गर्नेछन् । नत्र आफुले बृद्धा भएको बाबुआमालाई गाउँमा अलपत्र छोडेर हिडेपछि भोलि आफ्नो बूढेसकालमा छोराछोरीले हेरेनन् भनेर भन्ने ठाउँ रहँदैन । त्यसकारण पनि छोराछोरीले सिकून् अनुसरण गरुन् भनेर आफुले पहिले गरेर देखाउन जरुरी छ । अहिलेसम्म गाउँले हामीलाई दियो, अब हामीले गाउँलाई दिने बेला आएको छ । त्यसकारण अब जे छ, गाउँमै छ – लालचनले भने । प्रस्तुती – तिलक मल्ल
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया