बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो –  जापानमा खाली घरहरुको सङ्ख्या बढिरहेको छ । औसत आयु थप बढिरहेको छ तर न्यून जन्मदरका कारण जनसङ्ख्या भने खुम्चिदै गइरहेका छन् । परिणामस्वरुप, त्यहाँका गाउँ र शहरहरुमा धेरै घर खाली भएका छन् । यो सबै जनसङ्ख्याको संरचनामा आएको परिवर्तनको नतिजा हो ।

‘आउँदो तीन दशकमा जनसङ्ख्याकीय परिवर्तन (वृद्ध जनसङ्ख्या) का कारण उल्लेख्य आर्थिक र सामाजिक प्रभावको सामना गर्नेछ,’ बजार अनुसन्धाता संस्था आईएचएस मार्किटका एशिया-प्रशान्त क्षेत्रका प्रमुख अर्थविद राजीव विश्वासले गत अक्टोबरमा नै भनेका थिए ।

जनसङ्ख्याकीय परिवर्तनले विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा विभिन्न असर उत्पन्न भएको छ । तर यसमध्ये सबैभन्दा कम छलफल र कुराकानी भएको असर चाँहि अलपत्र खाली छाडिएका सम्पत्तिहरुको बढ्दो सङ्ख्या हो । तर अब भने यस्ता सम्पत्ति प्रति पनि मानिसहरुको ध्यान विस्तारै जाँदैछ ।

‘अकिया बैङ्क’ भनिने वेबसाइटहरुले अनलाइनमै सुपथ (कहिलेकाँही त निःशुल्क नै) घरहरु बेच्न थालेका छन् । ‘अकिया बैङ्क’को अर्थ जापानी भाषामा खाली घर हो । यस किसिमका साइटहरुले खाली घरहरुको माग तथा विक्री व्यवस्थापन गर्ने जिम्मा पाएको हुन्छ । यस्ता कयौं वेबसाइटहरु त स्थानीय सरकार र समूदायहरुले आफै खोलेका हुन् । एउटा वेबसाइटमा कयौं घरहरु निःशुल्क राखिएको छ । क्रेताहरुले कर र इजेन्ट कमिशन लगायत केही शुल्कहरु मात्रै तिरेर घर आफ्नो बनाउन सक्छन् ।

घरधनी स्वयम् घरको हेरचाह गर्न नसक्ने अवस्थामा पुगेका छन् वा उनीहरु घरको सम्पत्ति कर तिर्न चाँहदैनन् भने घर त्यसै छाडिदिन्छन् । घरहरु वेवास्ता गरेर छाडिएकोले तिनीहरु पुराना र भग्न अवस्थामा समेत पुगेका छन् । त्यसैले यिनीहरुको राम्रै मर्मत सम्भार भने गर्नु पर्दछ ।

तोचिगी र नागानो लगायत केही स्थानीय सरकारहरुले त खाली घरको मर्मतसम्भारमा छूट पनि दिइरहेका छन् । अवस्थिति, बनेको समय र स्थिति हेरेर ठिकै अवस्थाका घर ५ लाख येन (साढे ४ हजार डलर) देखि २ करोड येन (१ लाख ७७ हजार डलर) सम्म पाइन्छ ।

सन् २०१३ मा जापानभर खाली घरको सङ्ख्या ८१ लाख ९६ हजार थियो । यो सङ्ख्या त्यहाँको कुल घरको १३ दशमलव ५२ प्रतिशत हो । सन् २००८ मा भने यो सङ्ख्या ७५ लाख ६८ हजार थियो । तर सन् २०३३ सम्ममा खाली घरको सङ्ख्या २० प्रतिशत नाघ्ने अनुमान फुजित्सु रिसर्च इन्ष्टिच्यूटले गरेको छ । अहिले अधिकांश खाली घरहरु ग्रामीण क्षेत्रमा छन् । पछिल्लो समय उपनगर र ठुला शहरमा पनि खाली घरको सङ्ख्या बढ्दै जाने प्रवृत्ति देखिएको छ ।

नयाँ बन्ने आवासीय घरको सङ्ख्या आधा घटाउने हो र पुराना घर भत्काउने क्रम दोब्बर बनाउने हो भने पनि खाली घरको दर घटाउन असम्भव हुने एक प्रतिवेदनमा फुजित्सु रिसर्च इन्ष्टिच्यूटले बताएको थियो । भविष्यमा खाली घरहरु जापानको लागि सबैभन्दा गम्भीर समस्या बन्ने समेत प्रतिवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया