बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बहुप्रतिक्षित जापान भ्रमण यसैसाता सम्पन्न भएको छ । दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि बनेको दुईतिहाईको सरकार गठन पछि मन्त्री ज्ञवालीको यो भ्रमण नेपालको तर्फबाट भएको दोस्रो उच्चस्तरिय भ्रमण हो । नेपालको एक असल छिमेकी राष्ट्र जापानमा परराष्ट्रमन्त्री स्तरिय भ्रमण हुनु आफैमा महत्वपूर्ण मानिन्छ । ’समृद्ध नेपाल र सुखी नेपालको’ महत्वाकाँक्षी योजना बोकेको बर्तमान सरकारले जापान जस्तो प्रमुख दातृराष्ट्रबाट सहयोगको उच्च अपेक्षा गरिनु आफैमा नौलो बिषय नहोला ।

त्यसैको कडिकोरुपमा दुई देशबीच उच्चस्तरिय भ्रमण आदान-प्रदानको संभावना केलाउने, त्यसको आवश्यक आधार एवं वातावरण तयार गर्ने, प्रस्तावित दुईदेशबिच सिधा हवाईसेवा शिघ्र सञ्चालनका लागि पहल गर्ने, नेपालमा लगानीका लागि जापानी निजी क्षेत्रलाई आह्वान गर्ने र जापानको श्रमबजारमा नेपाली कामदारलाई अवसरका लागि आग्रह गर्ने लगायतका बिषयहरु मन्त्री ज्ञवालीको यसपटकको जापान भ्रमणका प्रमुख उद्देश्य रहेको देखिन्छ । यसकारण पनि मन्त्री ज्ञवालीको पाँच दिवसीय औपचारिक भ्रमणलाई सबैतिरबाट अत्यन्त महत्व र चासोका साथ हेरिएको हो ।

टोकियोस्थित नेपाली राजदूतावासको वर्तमान टिमले कार्यभार सम्हालेसंगै दैनिक कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउने, दूतावासको आफ्नै भवनको प्रबन्ध गर्ने र हाईलेभलको भिजिट आदान-प्रदान गराउने बिषयलाई मुख्य कार्यभारकारुपमा अगाडि सारेको थियो । सोही बमोजिम परराष्ट्रमन्त्री स्तरिय भिजिटबाट दुई देशबीच रही आएको असल सम्बन्धलाई थप उचाईमा पुर्‍याउने काम भएको छ । यसका साथै नेपालको पछिल्लो फेरिएको राजनीति, सन्दर्भ र वर्तमान सरकारले अंगिकार गरेको आगामी कार्ययोजनाका सम्बन्धमा जापान सरकारलाई जानकारी गराई उसको मनशाय बुझ्ने सन्दर्भमा पनि मन्त्री ज्ञवालीको भ्रमण सान्दर्भिक मान्न सकिन्छ । यसका लागि दूतावासले खेलेको भूमिका सह्रानीय मान्न सकिन्छ ।

जापान भ्रमणका क्रममा मन्त्री ज्ञवालीले जापानी समकक्षी तारो ओनो, कृषि, वन तथा मत्स्यपालन मन्त्री ताकामोरी योसिकावा, सत्तारुढ दल एलडिपीका महासचिवसमेत रहेका जापान नेपाल पार्लियामेन्ट्री लिगका अध्यक्ष तोसिहिरो निकाइ, जाइकाका अध्यक्ष डा. शिनिची किताओका, जापान नेपाल सोसाइटीका अध्यक्ष कोजिमा मित्सुआकी लगायतका विशिष्ट ब्यक्तित्वहरुसंग भेटवार्ता गरी नेपाल सरकारको धारणा राख्नुले जापानी जनतामा नेपालप्रति थप सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गर्न सकिन्छ । यसका साथै मन्त्री ज्ञवालीले जापानमा रहेका नेपाली समुदायसंग पनि अन्तरक्रिया गरी यहाँका नेपालीहरुको अवस्था, अवसर र चुनौतीका बारेमा जानकारी लिनुका साथै देशमा सीप, पूँजी र लगानी भित्र्याउन आग्रह गरिनुले प्रवासमा रहेका नेपालीहरुलाई मुलुकप्रतिको जिम्मेवारीमा थप सजग गराउने काम भएको छ । भ्रमणको उपलब्धि र परिणाम बारे उचित समयमा बिस्तृत समीक्षा हुने नै छ, यद्यपि नेपाली जनताले ठूलो आशा र भरोसा राखेको वर्तमान सरकारका परराष्ट्रमन्त्रीको जापान भ्रमणबाट मुलुकको हित हुने दिशामा उपयोगी सिद्ध हुने र यसले नेपाली जनतामा थप आशाको सञ्चार गर्ने बिश्वास लिन सकिन्छ ।

भ्रमणलाई अधिकतम फलदायी बनाउन मन्त्री ज्ञवाली र उनका भ्रमणदलले निकै मिहिनेत गरेको देखिन्छ । सोहीअनुसार जापान पक्षबाट पनि उत्तिकै महत्व र रुचीकासाथ रेस्पोन्स गरिनु अर्को सकारात्मक पाटो त छँदै छ, जापानी निजी क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न छुट्टै कार्यक्रम गरिनुले यसबाट कुनै न कुनै सकारात्मक परिणाम आउनेमा थप आशावादी हुन सकिन्छ ।
समग्रमा परराष्ट्रमन्त्रीको भ्रमणले समृद्ध नेपाल निर्माण अभियानमा जापान सरकारको अहम सहयोगी भूमिकाको माग गरेको प्रष्ट झल्किन्छ । मन्त्री ज्ञवालीका चरणवद्धरुपमा भएका द्विपक्षीय भेटवार्ता र सो क्रममा जापानी पक्षबाट देखाईएको चासोलाई हेर्दा सहयोगको लामो शृङ्खला रहेको जापानले परिवर्तित नेपालको बिकास, निर्माणमा आफ्नो विरासत अनुसारको भूमिका अवश्य निर्बाह गर्ने अपेक्षा गर्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया