शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानको मन्त्रीपरिषदले आउँदो वर्षको गोल्डेन वीकमा १० दिन विदा गर्ने निर्णय पारित गरेको छ ।

क्याविनेटको मंगलवार बसेको बैठकले उक्त निर्णय पारित गरेको हो ।

आगामी मे को १ देखि हालका सम्राट आकिहितोले स्वेच्छिक अवकाश लिने र युवराज नारुहितो जापानको नयाँ सम्राट बन्ने सो अवसरसंगै जापानको लामो गोल्डेन वीकको विदा पनि पर्ने भएकोले क्याविनेटले १० दिन सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
जसअनुसार जापानमा अप्रिल २७ तारिख शनिबारदेखि मे ६ तारिखसम्म १० दिन सार्बजनिक विदा हुने भएको छ ।

यसैगरी आगामी वर्षको अक्टुबर २२ तारिख पनि सार्बजनिक बिदा दिन क्याबिनेटले निर्णय गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त दिन नयाँ सम्राट नारुहितोको राज्यरोहण समारोह हुने भएकोले सार्बजनिक बिदा दिन लागिएको बताईएको छ । ८४ वर्षिय सम्राट आकिहितो उमेर र स्वास्थ्यका कारण स्वेच्छिक अवकाश लिन लागेका हुन् ।

युवराज नारुहितो सम्राट आकिहितो र साम्राज्ञी मिचिकोका जेठा छोरा हुन् भने राजकुमार फुमिहितो कान्छा छोरा हुन् । युवराज नारुहितो र युवराज्ञी मासाकोको एक मात्र सन्तान १७ वर्षिय सुपुत्री राजकुमारी आइको छिन् भने फुमिहितोका २ सुपुत्री राजकुमारी माको (२७), राजकुमारी खाको (२४) र १२ वर्षिय एक सुपुत्र राजकुमार हिसाहितो छन् ।

युवराज नारुहितो जापानको सम्राट भएलगत्तै उत्तराधिकारी उनको भाइ फुमिहितोमा र त्यसपछि उनको सन्तानमा सर्ने भएको छ ।
जापानी पम्पराअनुसार सम्राट आकिहितोको स्वेच्छिक अवकाशसंगै उनको शासनकाल समाप्त हुने भएकोले हाल प्रचलित जापानी क्यालेण्डर वर्ष हेइसेई पनि परिवर्तन हुने भएको छ । ***

तपाईको प्रतिक्रिया