शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

बिदेशमा बस्ने नेपालीहरुको तर्फबाट गैर आवासीय नेपाली संघले धेरै अगाडिदेखि बिदेशबाटै मतदान गर्न पाउनुपर्ने अधिकारको माग गर्दै आएकोमा ढिलै भएपनि हालै सर्बोच्च अदालतले उनीहरुको पक्षमा फैसला गरेको छ । यसले बिदेशमा बस्ने पचासौ लाख नेपालीहरुमा उत्साहको सञ्चार गरेको छ ।

अब विदेशमा बस्ने नेपालीहरुले नेपालको राजनीतिमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । सर्बोच्चको फैसलाले बिदेशको नागरिकता नलिएका अर्थात नेपाली नागरिकता नत्यागेका नेपालीहरुले बिदेशबाटै मतदान गर्न पाउने अधिकारको सुनिश्चित गरिदिएको छ । यद्यपि यस सम्बन्धमा कानुनी ब्यवस्था र कार्यान्वयन पक्ष सरलीकृत, भरपर्दो र प्रभावकारी हुन जरुरी देखिन्छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र त्यसको परिणाम बारे पनि अध्ययन हुनु आवश्यक छ । कतिपय देशले विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगमा कार्यरत कर्मचारी वा कुनै काम विशेषले गएका सरकारी अधिकारीलाई मात्र विदेशमा हुँदा आफ्नो देशमा मतदान गर्न पाउने सुविधा दिएको देखिन्छ । कतिपय देशले विदेशमा बस्ने आफ्ना नागरिकलाई इन्टरनेटको माध्यमबाट मतदान गर्न पाउने व्यवस्था गरेका छन् । तर त्यसबाट उत्पन्न विवादका कारण अनलाईन भोटिङको सो ब्यवस्था खारेज गरेका मुलुकहरु पनि छन् । अनलाईन भोटिङ प्रक्रिया सुन्दा जति सुन्दर र सहज लागे पनि यसको बिश्वसनियता माथि भने अझै पूर्णतयाः ढुक्क हुन सक्ने अवस्था आईनसकेको विज्ञहरुको तर्क छ ।

विदेशमा बस्ने आफ्ना नागरिकहरुलाई मताधिकारको उपयोग गर्ने सुविधा दिईनु स्वागतयोग्य कदम हो । नेपालको सन्दर्भमा देशभरका समस्त मतदाताहरुको नामावली रेकर्ड अझै कम्प्युटर प्रणालीमा नेटवर्किङको ब्यवस्था हुन नसकिरहेको अवस्था छ । बिदेशमा रहेका मतादाताहरुको नामावली संकलन, त्यसको अद्यावधिक र मतदानमा सामेल गराउने बिषय त्यति सहज नभए पनि पर्याप्त अध्ययन र गृहकार्य गरेमा असंभव भने देखिदैंन । यसलाई तदारुकताका साथ कार्यान्यनमा ल्याउन राज्य सञ्चालन गर्ने जिम्मेवारी सम्हालेकाहरुको इच्छाशक्ति अर्को सबैभन्दा महत्वपूर्ण पाटो हो । अहिलैदेखि तैयारीलाई तिब्र पार्न सके ४ वर्षपछि हुने आगामी आम निर्बाचनमा बिदेशबाटै नेपालीहरुले मतदान गर्न पाउने छन् । अन्यथा सर्बोच्चको फैसला केवल फैसलामा मात्र सीमित नहोला भन्न सकिन्न । चरम राजनीतिक खिचातानी, बिदेशमा बस्ने नेपालीहरुलाई हेर्ने राज्यको दृष्टिकोण आदि कारण र ब्यूरोक्रेसीहरुको सहयोग रहेन भने कार्यान्वयनमा चरम ढिलाई हुन सक्ने संभावनाहरु पनि उत्तिकै छन् । यि सबै अवरोधहरुलाई पन्छाउँदै बिदेशमा बस्ने नेपालीहरुको मताधिकारलाई कार्यान्वयनमा उतार्न सम्बन्धित सरोकारवला सबै पक्षको उत्तिकै पहलकदमी र रचनात्मक दबाबका साथै साथ-सहयोग पनि ज्यादै आवश्यक छ ।

बिदेश देखेबुझेका, अनुभव गरेका र चेतनाको स्तरका दृष्टिले पनि प्रवासी नेपालीहरुको लाखौं मत निर्णायक मत हुन सक्ने देखिन्छ । यसकारण पनि राजनैतिक पार्टीले दलगत स्वार्थका लागि बिदेशमा समेत निकै चलखेल बढाउन सक्ने संभावना रहन्छ । यसले बिदेशमा राजनैतिक पार्टीका भ्रातृसंगठनको बिस्तार र सक्रियता अझ बढाउने निश्चित छ । बिदेशीभूमिमा खुल्ला राजनैतिक गतिबिधि गर्न बर्जित छ । यसलाई पनि मध्यनजर राख्दै प्रवासबाट मताधिकारको उपयोगमा बैज्ञानिक नीति अवलम्बन गरिनु जरुरी छ ।

मताधिकारको नयाँ ब्यवस्थाले राष्ट्रनिर्माणमा बिदेशमा बसेका नेपालीहरुलाई सरिक बनाउन अझ ऊर्जा थप्ने छ भने हरेक नागरिकलाई जन्मभूम्रि्रति थप जिम्मेवार बनाउने छ । यसकारण पनि प्रवासी नेपालीलाई मताधिकारको पक्षमा सर्बोच्चको फैसला स्वागतयोग्य छ । कार्यान्वयनको पक्ष त राज्य र सरकारले ब्यवस्थापन गर्ने बिषय हो त्यो भने हेर्न बाँकी छ।***

तपाईको प्रतिक्रिया