आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा २५ वर्षपछिकै ठूलो आँधी आएको छ । आँधीका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।

unn.prixa.net

जेबी नाम दिइएको आँधी प्रतिघण्टा १ सय ७२ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षा सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो गएको छ । आँधीका कारण १० लाख मानिस प्रभावित भएको अनुमान छ ।

मौसमविद्ले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी भएको जनाएका छन् । जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।

शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो । अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्द भएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ ।

आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् । ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ । जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया