आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो ।

जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा आएको अधिकारीहरुले जनाएका छन् । आँधीसँगै भीषण वर्षा पनि भएको थियो । आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् ।

शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो । अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ ।

आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् । ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ । जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया