आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाली खेलकुदको समापन गरिएको हो । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित प्रतियोगिताको हिजो औपचारिक समापन गरियो । भव्य समारोहमा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, पत्रकार, अतिथि र दर्शक गरी ५५ हजार उपस्थित थिए । यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए । नेपालको तर्फबाट टेवलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले मार्च पास गरेकी थिइन् ।

गत १८ अगस्टदेखि हिजोसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो । चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्‍यो । दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो ।

चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो । उसले  ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्‍यो । नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो ।

प्रतियोगितामा सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो । ८ देशले पदक जित्न सकेनन् । समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया