आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपाली नारीहरुको हर्षोल्लासको पर्व तीज नजिकिदैं गर्दा जापानमा पनि चहलपहल सुरु भईसकेको छ । हरेक वर्षझैं यस वर्ष पनि जापानमा दर्जनौ तीज कार्यक्रमहरु आयोजित छन् । ती कार्यक्रमहरुका लागि दर्जनौ कलाकारहरु जापान आउने क्रममा छन् भने कतिपय आयोजकहरु स्थानीय कलाकारहरुको सहयोग लिएर तीज कार्यक्रमको तयारीमा जुटेका छन् ।

यसैबिच यही सेप्टेम्बर २ का दिन रुपन्देही समाज जापानले आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने गरी टोकियो रोधी क्लवमा तीज बिशेष साँगीतिक कार्यक्रमको आयोजना गरेको छ भने ५ तारिख वामी सेवा समिति जापानको इकेगामी खाइकानमा तीज बिशेष कार्यक्रम हुने भएको छ । यसैगरी ६ तारिखका दिन गल्कोट समाज जापानले टोकियो रोधी क्लवमा तीज बिशेष साँगीतिक कार्यक्रमको आयोजना गरी आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम तय गरेको छ । लगत्तै ८ तारिख शनिबार दर्शन समाज जापानले पनि सोही हलमा तीज बिशेष साँगीतिक कार्यक्रम सहित चेलीबेटीलाई दर खुवाउने कार्यक्रम राखेको छ ।

उता फुकुओकामा रहेका नेपालीहरुको संस्था फुकुओका नेपाली सोसाइटीले ७ सेप्टेम्वरमा मुना थापा मगर, प्रकाश सपुत र सरिश्मा पुन लगायतका कलाकारहरु आमन्त्रित गरी यस वर्षको तीज कार्यक्रमको आयोजना गरेको छ । नृत्यङ्गनामा राम्रो दखल राख्ने सरिश्मा जापानमा पहिलोचोटी आउन लागेकी हुन् ।

यसैगरी ९ तारिख आइतबार मोना जापानले टोकियो रोधी क्लवको हलमा तीज बिशेष कार्यक्रम गरी चेलीबेटीहरुलाई दर खुवाउनुका साथै साँगीतिक रमझम एवं तीजको रौनकतामा बिदेशको न्यास्रो मेटाउने तयारीमा जुटेको छ । सोही दिन गोरखा समाज जापानले शिनओकुबोस्थित रोयाल गार्डेनमा तीज बिशेष साँगीतिक कार्यक्रमसहित चेलीबेटीहरुलाई दर खुवाउने भएको छ ।

उता इभेन्ट म्यानेजमेन्ट गर्दै आएको शिन्जो कर्पोरेशन जापानले ९ तारिख र १२ तारिख नाकानो जिरो हलमा नेपालका चर्चाका शिखरमा रहेका कलाकर्मीहरुलाई स्टेजमा उतार्ने भएको छ । तीज धमाका २०१८ नाम दिईएको सो दुई दिवसीय कार्यक्रममा रामजी खाँड, देवी घर्ती, प्रकाश सपुत, चन्दा अर्याल, सूर्य खड्का लगायतका कलाकारहरुले टोकियोबासीलाई झुमाउने भएका छन् । यसैगरी सोही दिन ९ तारिख बलेवा सेवा समाज जापानले नेपालका चर्चित कलाकारहरुको बिशेष साँगीतिक प्रस्तुती रहने तीज बिशेष कार्यक्रम गर्ने भएको छ । मेगुरो कुमिन सेन्टरमा हुने सो कार्यक्रमका लागि कृष्ण अखेली, याम क्षेत्री, सम्झना लामिछाने र सीता परियार जापान आउने भएका छन् ।

यसैगरी हरेक वर्ष नेपालबाट कलाकारहरु आमन्त्रित गरी तीज कार्यक्रमको आयोजना गर्दै आएको स्याङ्जा समाज जापानले यो वर्ष पनि खुमन अधिकारी, शोभा त्रिपाठी र राजन कार्कीलाई निम्त्याएको छ । सेप्टेम्बर १२ तारिख बुधबार तीजकै दिनमा हुने सो कार्यक्रम हिगासी निप्पोरी स्थित सन्नी हलमा हुन गईरहेको सो समाजले जनाएको छ ।

उता एनआरएन जापानको महिला फोरमले पनि सेप्टेम्बर ११ तारिखका दिन तीज बिशेष कार्यक्रमको आयोजना गरी यस वर्षको तीजलाई बिशेष बनाउने भएको छ । यसका साथै बिहुँकोट समाज जापान, मालिका समाज जापान, कुँडुले समाज जापान, गल्कोट दिदीबहिनी समुह, कानागावा नेपाली कम्युनिटी, म नेपाली ग्रुप, दोलखा समाज जापान, पर्वत समाज जापान, रोल्पा समाज जापान, नवलपरासी समाज जापान, नेपाली साझा समाज गुन्मा जापान लगायतका संस्थाहरुले पनि जापानमा तीज कार्यक्रमको आयोजना गरेका छन् ।

बिशेषतः महिलाहरुको पर्व मानिने तीजमा स्वतःस्फुर्त दर्शकहरुको उपस्थिति रहने भएकोले पनि जापानमा तीजको अवसरमा धेरै कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । कलाकारहरुको भिसा प्रक्रियामा देखिएका जटिलता लगायतका कारण विगतका वर्षहरुको तुलनामा यस वर्ष तीज कार्यक्रम केही कमी देखिए पनि साथीभाइ भेला भएर नजिकको पायक पर्ने रेष्टुरेन्टमा जम्मा भई रमाईलो गर्ने स-साना कार्यक्रमहरु भने यत्रतत्र हुने बुझिएको छ ।
विदेशमा भए पनि तीजको बेलामा स्वदेशमा झैं गरगहना र राता सारीमा सजिएका नेपाली नारीहरुको रेलका डिब्बाहरुमा देखिने ताँती अब जापानमा सामान्य लाग्न थालिसकेको छ । यस्ता दृश्य देखेर जापानीहरु दंग पर्दै अनेकौ लख काट्ने गर्दछन् । मिलाएर बुझाउन सकेमा उनीहरु अझ हौसिएर संगसंगै सहभागी हुन पनि पछि पर्दैनन् । तीजको उल्लाससंगै नेपाली नारीहरुबीच एकताको सन्देश प्रवाह गर्ने साँस्कृतिक पर्वमा पुरुषहरुले पनि उतिकै साथ दिदैं आएका छन् । दाजुभाइ तथा दिदीबहिनीबीच मेलमिलाप र भाइचाराको नविकरण गर्ने यस पर्वले प्रवासमा नेपाली सँस्कृतिको सशक्त प्रतिनिधित्व गर्दै आएको पाईन्छ ।

अर्कोतिर तीज भडि्कलो हुँदै गएकोमा चिन्ता ब्यक्त गर्ने जमातको पनि कमी छैन । ब्यस्त दैनिकीका बाबजुद महिनौ तीज मनाउने, महंगा गरगहना र फेशन मगाई अघोषित प्रतिस्पर्धा एवं देखासिकी जस्ता विकृति नजानिदो तवरले बिकास भईरहेको पाईन्छ । यसैगरी तीजका गीतका नाममा रत्यौलीको झझल्को दिने उरेन्ठेउला शैलीका गीत, संगीतप्रति हाम्रो समाज झन झन उद्यत बन्दै गएको देखिन्छ । छिटो र सस्तो लोकप्रियताका लागि सर्जक र स्रष्टाहरु पनि यसतर्फ आकर्षित भएको देखिन्छन् । कमर्सियल दृष्टिकोणले छिटो बजार पिट्नका लागि तीजका गीतहरुमा आएको नयाँ नयाँ धारले तात्कालिक चर्चा पाए पनि चिरस्थायी भने विरलै हुने गरेको पाईन्छ । घरदेशको प्रभाव परदेशमा पनि पर्ने हुँदा तीजको बेलामा यस्ता नयाँ नयाँ धारका गीतहरु रोजाईमा पर्ने गर्दछन् ।

तीजको नाममा बन्ने गीत संगीतमा मौलिकताको गहिराई र शब्दको गहनतामा नै वास्तविक तीज भेटिने जानकारहरु बताउँछन् । तीजलाई तीजकैरुपमा रहीरहन दिनका लागि यी र यस्ता बिषयमा सार्थक मन्थन गर्न साँगीतिक क्षेत्रका बौद्धिक जमातले अग्रसरता देखाउन जरुरी रहेको उनीहरुको तर्क छ ।***

तपाईको प्रतिक्रिया