आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानकी केन तानाका संसारको सबैभन्दा वृद्ध महिला र मसाजो नोनाका सबैभन्दा वृद्ध पुरुष हुन् । केन एक सय १५ वर्ष पुगिन् भने मसाजो एक सय १२ । दुबै सर्टिफाइड जीवित वृद्ध/वृद्धा हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी मसाजो नोनाकाले हालै आफ्नो एक सय १२ औं जन्मदिन मनाए । अन्य देशको तुलनामा निकै कम बिरामी पर्छन् । यसको कारण हो उनीहरुको जीवनशैली  । सबैभन्दा वृद्ध मानिसको रेकर्ड अहिले पनि जापानको नाममा छ ।

आठ गोप्य कुराः उत्कृष्ट जीवनशैली र नियमलाई निकै कडा रुपमा पालना गर्छन् जापानी

१. विशेष चियाः दिनमा थुप्रै पटक पिउँछन्
जापानी कफीको तुलनामा धेरै चिया पिउँछन् । यो साधारण चिया होइन । उनीहरुले पिउने चियामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जुन रोगसँग लड्ने क्षमतामा वृद्धि गर्नुका साथै अनुहारमा चाउरी पर्नबाट रोक्छ । यो एक विशेष प्रकारको पाउडरबाट तयार गरिन्छ जसलाई माका भनिन्छ । यो पाउडर विशेष पातबाट बनाइएको हुन्छ ।

२. सफा, सुग्घरः दिनमा दुईपटक नुहाउँछन्
जापानी शिन्तोवादी हुन् । सर–सफाई शिन्तोवादको प्राथमिकतामा पर्छ । यसबाहेक यहाँका मानिसहरु अलिकति पनि फोहोर हुन दिँदैनन् । गर्मीमा मानिसहरु दिनमा दुई पटक नुहाउँछन् । यहाँ कम्युनल बाथ सिस्टम छ जहाँ एकैपटक धेरै मानिसहरु नुहाउन सक्छन् तर निर्देशन पालना गर्नु निकै आवश्यक छ ।

३. आउटिङः घरमा होइन, धेरैजसो समय बाहिर बिताउँछन्
जापानीहरुको ध्यान खुसी रहन र परिवारसँग आनन्दसँग बस्नमा केन्द्रित हुन्छ । यसका लागि उनीहरु घरमा कम र बाहिर धेरै समय बिताउँछन् । उनीहरु निकै सामाजिक हुन्छन् र मानिसहरुसँग भेटघाटका लागि घरबाहिरको स्थान छान्ने गर्छन् । उनीहरुको घर सानो हुने भएकाले पनि भेटघाटका लागि घर बाहिर जाने गर्छन् ।

४. फिटनेश मन्त्रः बस्ने होइन, कि हिँड्नुहोस् कि त उभिनुहोस्
खानाबाहेक उनीहरु शारिरिक रुपमा फिट हुने कुरामा पनि तल्लिन रहन्छन् । जापानीहरु निकै कम बस्छन् । उनीहरु आफ्नो काम कि त उभिएर गर्छन् कि हिँड्दा हिँड्दै । धेरैजसो जापानी स्टेशनसम्म हिँडेरै पुग्छन्, त्यहाँ उभिन्छन् । यसबाहेक ट्रेन र अफिसमा पनि धेरैजसो उभिन नै रुची राख्छन् ।

५. दिनको सुरुवातः बिहान रेडियोको भोइस ओभरबाट टेसो वर्कआउट
रेडियो टेसो, एक प्रकारको जापानी मर्निङ एक्सरसाइज हो । यसलाई जापानमा बिहानै रेडियोमा प्रसारण गरिन्छ र यसको धुन र भोइस ओभरअनुसार मानिसहरु व्यायाम गर्छन् । यो पूर्ण रुपमा एक वार्मअप व्यायाम हो । यो वर्कआउट यहाँका लागि एक परम्पराजस्तै हो जसलाई मानिसहरु दैनिक गर्छन् । रेडियो टेसोको सुरुवात अमेरिकाबाट भएको थियो, त्यसपछि यो जापानमा लागु गरियो ।

६. विशेष प्रकारले तयार गर्छन् खाना
उनीहरुले खाने खाना पनि भिन्न तरिकाले बनाइन्छ । उनीहरु धेरैजसो उमालेको र बाफले पकाएको, हल्का फ्राई गरेको र सानो आँचमा पकाएको खाना खान रुचाउँछन् । खानामा निकै कम तेल र मसलाको प्रयोग गर्छन् । जापानीहरु खानामा ताजा सागपात समावेश गर्छन् त्यसकारण उनीहरुको खानामा पोषक तत्व अत्यधिक हुन्छ ।

७. सानो प्लेटः खाना कम खान र बोसो बढ्न नदिने
जापानिज कुजिनको सबैभन्दा विशेष कुरा यो हो कि उनीहरु सानो प्लेट, कचौरा र चपस्टिकको प्रयोग गर्छन् । खाना जे सुकै भएपनि एउटा प्लेटमा एउटा खाना राखिन्छ ता कि कम खाँदा नै भोक मेटियोस् र बोसो नबढोस् । यसबाहेक भाँडामा निकै कम मात्रामा खाना पस्किइन्छ । जापानीहरु भोकको ८० प्रतिशतमात्र खाना खानुपर्ने मान्यता राख्छन् ।

८. ताजा खानाः प्याक गरिएको खानामा ताजापन उल्लेख गरिएको हुन्छ
यहाँ ताजा र मौसमी खानेकुरा मात्र खाने गरिन्छ । खानामा गेडागुडी र माछाको अत्यधिक प्रयोग गर्छन् । संसारभरीको खानपिनबारे किताब लेख्ने नाओमी मोरियामाको ‘जापानिज  वुमन डन्ट गेट ओल्ड एण्ड फ्याट’ अनुसार यहाँको बजारमा फल र सागसब्जीको प्याकेटमा कति घण्टा पुरानो हो, यसको जानकारी दिइएको हुन्छ । ***

तपाईको प्रतिक्रिया