मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को अध्यक्षको लागि आगामी सेप्टेम्बर २० तारिखका दिन निर्वाचन हुने भएको छ ।
पार्टी अध्यक्षका रूपमा प्रधानमन्त्री शिन्जो आबेको कार्यकाल सेप्टेम्बर महिनामा समाप्त हुँदै छ ।

जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार मंगलवार भएको पार्टीको निर्वाचन समितिको बैठकले पार्टीको नेतृत्वका लागि सेप्टेम्बर २० मा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री आबेले तेस्रो कार्यकालका लागि नेतृत्वमा पुनः दोहोरिने आकाँक्षा देखाएका छन् भने एलडीपीका पूर्व महासचिव शिगेरु इशिबाले आफ्नो उम्मीदवारीको यस अगाडि नै घोषणा गरिसकेका छन् ।

पूर्व रक्षामन्त्री समेत रहेका इशिबाले मंगलवार पत्रकार भेटघाटमा बोल्दै पार्टीको विधानमा संशोधन, राज्यको अर्थव्यवस्थामा सुधार, सुरक्षा नीतिमा आवश्यक सुधार लगायतका मुद्दा जनतामा लिएर जान आफु उम्मेदवारी दिन लागेको बताए ।

लामो समयदेखि जापानको राजनीतिको केन्द्रमा रही सत्तामा वर्चस्व राख्दै आएका प्रधानमन्त्री तथा एलडीपीका अध्यक्ष आबेको लोकप्रियता अझै कायम रहेकोले उनको नेतृत्वले निरन्तरता पाउने जापानका एकथरि राजनैतिक विश्लेषकहरु बताईरहेका छन् भने अर्कोथरि भने आबेले अब सत्ता हस्तान्तरण गर्ने बेला आएकोले मार्गप्रशस्त गरिनु बुद्धिमानी हुने लख काटिरहेका छन् । सन् २०२० को ओलम्पिक, जापानको पछिल्ला दिनहरुमा फेरिएको विदेश सम्बन्ध, आर्थिक सुधारका लागि आफैद्वारा थालिएका प्रयास लगायतका कारण पनि आबे पुनः नेतृत्वका लागि आकाँक्षी देखिएको हुन सक्ने जानकारहरु बताउँछन् ।

एलडीपीको नेतृत्वका लागि सेप्टेम्वर ७ देखि प्रचारप्रसार क्याम्पेन सुरु हुने पार्टी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया