मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – विश्वभरी नै आफ्नो संजाल रहेको र मानविय क्षेत्रमा क्रियायाशिल जुनिअर चेम्बर इन्टरनेशनल (जेसिआइ) ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुरयाएका १० उत्कृष्ट व्यक्तिहरूलाई छनोट गरी सम्मानित गर्दै आएको छ । विगतमा अमेरीकी राष्ट्रपतिहरू जोन एफ केनेडी, रिचर्ड निक्सन र बिल क्लिन्टनले पनि जेसीआइको अमेरिकाभित्र यो सम्मान पाएका थिए । संयोगवश यो वर्ष पहिलोपटक नेपालबाट सहप्राध्यापक डा. कमल लामिछाने प्राज्ञिक क्षेत्रमा पुरयाएको योगदानका कारण यो सूचीको २० जना भित्र अटाउनुभएको छ र अब हाम्रै भोटले यो सम्मान नेपालले पाउने कि नपाउने भन्ने निर्धारण हुनेछ ।

हरेक मुलुकमा रहेको जेसिसका कार्यालयहरूले बिभिन्न क्षेत्रमा योगदान पुरयाएका स्वदेशी नागरिकहरूलाई सिफारिस गर्न सक्ने व्यवस्था अनुसार लामिछानेलाई नेपालबाट जेसिसले सिफारिस गरेको थियो । बिभिन्न देशका ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरूबाट छनोट समितिले उनीहरूले पुरयाएको योगदानलाई आधार मानि उत्कृष्ट २० जनाको सूची तय गरेपछि त्यहाँबाट १० जना सम्मानित हुनेहरूको नाम तय गर्न अनलाईन भोटिंग खुला गरिएको हो ।

https://toyp.jci.cc/ लिंकमा गई यही अगष्ट २४ भित्र दशौं नम्बरमा रहेका कमल लामिछानेको फोटो क्लिक गरी लाईक गर्ने ठाउँ आउँछ र त्यहाँ लाईक गरी भोट गर्न सकिन्छ।

डा. कमल लामिछाने धेरैका लागि अपरिचित नाम होइन । उनी विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुन् । दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाएका लामिछाने चितवनस्थित कालिका नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा २९ वर्षको उमेरमा टोकियो विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।

जापानमा बसोबास गर्ने लामिछाने चुकुवा विश्वविद्यालयका सहप्राध्यापक हुन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । उनका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकासका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उनले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आएका छन् । ***

तपाईको प्रतिक्रिया