काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिनुभयो ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको हो । उहाँले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उदारीकरण र निजीकरणको नाममा विगतमा सार्वजनिक संस्था बेच्ने काम भएको प्रसंग पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री यादवसँग सांसद्हरु प्रेम सुवाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, गंगा चौधरी सतगौवा र लक्ष्मी चौधरीले थप स्पष्टीकरण माग्नुभएको थियो ।