चरिकोट – दोलखा र सिन्धुपाल्चोकका निर्माण व्यवसायीलाई ५८ करोड भुक्तानी दिन बाँकी रहेको छ । डिभिजन सडक कार्यालय दोलखाले आव ०७४-०७५ का लागि विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेवापत सो रकम भुक्तानी दिन बाँकी रहेको हो ।
वर्गीकृत विज्ञापन
केही निर्माण व्यवसायीले भने काम गरेको रकम नपाएपछि निर्माण कार्य रोकेका छन् । दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानका सडक निर्माण गरेका ठेकेदारको हालसम्म कार्यालयले ५८ करोड रकम भुक्तानी गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारीले बताउनुभयो । दोलखा र सिन्धुपाल्चोकका सडक निर्माण भइरहेको र निर्माण सम्पन्न गरेका ठेकेदारलाई कार्यालयले भुक्तानी गर्न नसक्दा दिनैपिच्छे ठेकेदारको गुनासो सुन्दै हैरान हुने गरेको लेखापाल होमबहादुर श्रेष्ठ बताउँछन् ।
ठेकेदारले रकम नपाएको भन्दै पटकपटक कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । कार्यालयले ठूला ठेकेदार कम्पनी र साना ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिन नसक्दा ठेकेदारले निर्माणमा काम गर्ने मजदूरलाई भुक्तानी गर्न सकेका छैनन् भने निर्माण सामग्री खरिद गरेको बिल भुक्तानीसमेत गर्न नसक्दा आगामी सरकारले निकाल्ने ठेक्कापट्टाको कामसमेत गर्न नसक्ने र बाँकी कामसमेत बिचैमा छोड्नु पर्ने अवस्था सिर्जना भएको महालक्ष्मी कन्ष्ट्रक्सन कन्सर्न प्रालिका साइड इञ्चार्ज तेजबहादुर भुजेल बताउँछन् ।
कारबाहीको सिफारिसमा २२ निर्माण कम्पनी
निर्माण कार्यमा ढिलाइ गर्ने २२ निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण व्यवसायीका कम्पनीको विवरण गृहमन्त्रालयमा पठाएको हो ।
समयमै निर्माण सम्पन्न नगर्ने र काममा ढिलासुस्ती गर्ने त्यस्ता कम्पनीको विवरण मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । कारबाहीका लागि सिफारिसमा पर्ने कम्पनीमा फ्रेन्ड्स ध्रुवतारा आरडीजेवी कोटेश्वर काठमाडौँ, रौतामहादेव जेवी कम्पनी भीमेश्वर नगरपालिका लाकुरीडाँडा दोलखा, रामेछाप न्यू सताक्रि जेवी चाबहिल काठमाडौँ र स्वर्ण निर्माण सेवा राम्चे सिन्धुपाल्चोकलगायतका छन् ।