बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं –  सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। सरकारले १२ दिनअघि जेठ १५ गते आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट सार्वजनिक गरेको थियो।

आइतबारका लागि प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो।

विशेष समयमा सांसदहरूले बोलिसकेपछि अचानक सभामुख कृष्णबहादुर महराले १ देखि ७ नम्बरसम्म रहेको कार्यसूचीको विषय हटाइएको जानकारी दिनुभएको थियो।

संसद् सचिवालयले ६ दिनसम्म मन्त्रालयगत छलफल गर्ने र ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका थियो। दैनिक ११ बजेदेखि ५ घण्टासम्म छलफल गर्ने भनिए पनि शुरूकै बैठक अघि बढ्न सकेन।

संयुक्त कार्यविधि आज पारित हुँदै

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०७५ आज सोमबार पारित हुँदै छ।

आज दिउँसो १ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा नियमावली पारित हुने सांसद लक्ष्मणलाल कर्णले बताउनुभयो। ‘संयुक्त बैठक कसरी चलाउने र समितिलाई कसरी व्यवस्थित गरिने भन्ने नियम यो संयुक्त नियमावलीमा उल्लेख छ’, कर्णले भन्नुभयो– ‘केही संयुक्त बैठक बस्नुपर्ने हुन्छ र केही समितिले संयुक्तरूपमा काम गर्नेछन्।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली–२०७५ बनाउनका लागि गठित दुवै समितिको संयुक्त बैठकले यो संयुक्त नियमावली बनाएको बताउनुभयो।

संयुक्त बैठकको सञ्चालन प्रतिनिधिसभाको सभामुखले गर्नुहुनेछ, सभामुखसँगै राष्ट्रिय सभाका अध्यक्ष पनि ड्यासमा सँगै रहनुहुनेछ।

तपाईको प्रतिक्रिया