शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – देशभर हाल कायम रहेका ६ महानगरपालिकामध्ये सबैभन्दा बढी बजेट पोखरा लेखनाथ महानगरपालिकाले पाएको छ । काठमाडौंलाई समेत जित्दै पोखरा लेखनाथले सबैभन्दा बढी बजेट पाएको छ भने विराटनगरले सबैभन्दा थोरै बजेट पाएको हो ।

सरकारले प्रदेश ४ को अस्थायी राजधानी कास्कीको पोखरा लेखनाथ महानगरपालिकालाई १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसमध्ये वितीय समानीकरणतर्फ ६१ करोड ४४ लाख र सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको हो । पोखरापछि धेरै बजेट पाउने महानगरपालिकामा काठमाडौं महानगर परेको छ । आर्थिक वर्ष २०७५-७६ मा काठमाडौं महानगरपालिकालाई १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । वित्तीय समानीकरणतर्फ ६७ करोड ७२ लाख र सशर्त अनुदानतर्फ १ अर्ब १० करोड करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका धेरै बजेट पाउनेमा तेस्रो स्थानमा छ । भरतपुरले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बजेट पाएको छ । वित्तिय समानीकरणतर्फ ४६ करोड ३५ लाख र सशर्त अनुदानतर्फ ७७ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । चौथो स्थानको वीरगञ्ज महानगरपालिकाले ९८ करोड ११ लाख रुपैयाँ बजेट पाएको छ । वित्तिय समानीकरणतर्फ ४३ करोड १७ लाख र सशर्त अनुदानतर्फ ५४ करोड ९४ लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै ललितपुर महानगरपालिकालाई ८९ करोड ७८ लाख र विराटनगरलाई ७८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उसले वित्तिय समानीकरणतर्फ ४७ करोड ६२ लाख र सशर्त अनुदानतर्फ ४२ करोड १६ लाख रुपैयाँ पाएको हो । विराटनगर महानगरपालिकाले ७४ करोड २० लाख रुपैया पाएको छ । महानगरपालिकाले वित्तिय समानीकरणतर्फ ३४ करोड २४ लाख र सशर्त अनुदानतर्फ ४३ करोड ९६ लाख रुपैयाँ बजेट पाएको हो । सरकारले प्रदेशतर्फ भने एक नम्बर प्रदेशमा सबैभन्दा धेरै र चार नम्बर प्रदेशमा सबैभन्दा कम बजेट छुट्याएको थियो ।

तपाईको प्रतिक्रिया