मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी टुटफुट, विभाजन र एकताका बिभिन्न शृङ्खलाहरु पार गर्दै झण्डै ७० वर्षपछि दुई ठूला कम्युनिष्ट पार्टी  एक भएका छन् । अनपेक्षित लामो गृहकार्य र अनेकन शंका उपशंकालाई चिर्दै देशका दुई प्रमुख कम्युनिस्ट पार्टीले एकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । फरक पृष्ठभूमि र फरक राजनैतिक दर्शन भएका एमाले र माओवादी केन्द्रबीच भएको एकताले नेपाली राजनीति नयाँ चरणमा प्रवेश गराएको छ । एमाले र माओवादीबीच समझदारीमा दुई अध्यक्षसहित केन्द्रीय समिति, स्थायी समिति, अन्तरिम बिधान, हाइकमाण्ड लगायतका संरचना बनाईएको छ । नयाँ पार्टीले महाधिवेशन दुई वर्षभित्र गर्ने र समझदारीमै नेतृत्व चयन गरिने, महाधिवेशनसम्म सैद्धान्तिक बहस गर्ने र पार्टीको सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्ने समझदारी भएको छ । पार्टी एकतासंगै बहुमतसहितको बलियो सरकारको अग्निपरीक्षा सुरु भएको छ । पार्टी एकता गर्ने उदघोष संगै एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका यी दुई दलहरुले गरेको शान्ति, स्थिरता, सुशासन र समृद्धि दिने प्रतिबद्धताले पूर्णता पाउने वा नपाउने बिषय अहिलेको सरकारसंग जोडिएको सबैभन्दा महत्वपूर्ण प्रश्न हो ।
फुट्न मात्र जानेको भन्ने आरोप खेप्दै आएका नेपालका कम्युनिष्ट पार्टी बीचको एकताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सफल भएको छ भने नेपाली राजनीतिले नयाँ मोड लिएको छ । यसले मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा लैजान सकोस् भन्ने आम नेपालीको अपेक्षा छ । नेपाली जनताका अपेक्षालाई सहि मानेमा सम्बोधन गर्न सके मात्र एकताले सहि अर्थमा सार्थकता पाउने छ।

तथापि फरक फरक स्कुलिङबाट आएका दुई दलहरूबीचको एकता पछिको नेपाल कम्युनिष्ट पार्टीको आगामी यात्रा भने त्यति सजिलो छैन । एकीकृत पार्टीका कैयौं नेता, कार्यकर्तामा जिम्मेवारी, अवसर, मर्यादाक्रम आदिका कारण असन्तुष्टिहरु स्वभाविक रूपमा देखिन सक्छन् त्यसलाई सही ढंगले सम्बोधन गरी समयमै समाधान गर्ने क्षमता नेतृत्वले राख्न सक्नुपर्दछ । आफैले बाँडेको स्थिरता र समृद्धिको सपनालाई व्यवहारिकरुपले साकार पार्ने, छिमेकी राष्ट्रहरुसंगको सम्बन्धलाई ब्यवस्थित तरिकाले सन्तुलनमा राख्ने, प्रतिपक्षी दलहरुलाई विश्वासमा लिएर अगाडि बढ्ने जस्ता अनेकन चुनौतीका चाङहरु छन् । जस्तोसुकै कठिन यात्रामा पनि मुलुक र जनताको हितलाई केन्द्रमा राखेर अगाडि बढ्न सकेमा मात्र पार्टी एकता केवल नेताहरूको सत्ता सुखका लागि मात्रै होइन भन्ने सन्देश दिन सकिने छ ।
नेपालको संविधान २०७२ को प्रावधान बमोजिम नयाँ पार्टी अगाडि बढ्न सक्नुपर्दछ । त्यही स्तरको चेतना नेता, कार्यकर्तामा पनि हुनुपर्छ । एकीकृत कम्युनिष्ट पार्टीले आफ्ना सांसददेखि स्थानीय निकायका जनप्रतिनिधि एवं कार्यकर्ता पंत्तिलाई संविधान, यसको भावना र मर्मका आधारमा पार्टी र सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रम सफल पार्न देशभरिनै अब व्यापक प्रशिक्षण चलाउनुपर्छ । परिवर्तित सन्दर्भमा उनीहरुको मानसिकतामा ब्यापक परिवर्तन ल्याउन जरुरी छ । जुन उनीहरुमा देखिएको छैन । पुरानै मानसिकता बोकेर अब ठूलो पार्टीको सदस्य बनिरहन मिल्दैन, छाती चौडा बनाएर ब्यवहारिक रुपमै अन्तरघुलित हुन सक्नुपर्दछ । पुरानै संकिर्ण सोच र चिन्तनबाट बिकसित परिस्थितिमा लक्ष हासिल गर्न सकिदैन ।

एकीकृत पार्टी बन्दैमा मुलुकमा राजनीतिक स्थिरता, विकास र समृद्धि हासिल हुन्छ भनेर विश्वास गरी हाल्ने बेला भएको छैन । मुख्यतयाः एकीकृत पार्टीको सिंगो शक्ति एकताबद्ध ढंगले संविधान, पार्टी र यसको सरकारले बनाउने नीति तथा कार्यक्रमलाई जनतासँग जोड्न सक्छ कि सक्दैन भन्ने बिषयले विकास र समृद्धिको सपना निर्धारण गर्ने छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै पहिलोचोटी प्राप्त यस अवसरलाई सदुपयोग गरी नेपाल कम्युनिष्ट पार्टीले देशको समृद्धिमा जोड दिन सक्नुपर्छ । वास्तविक रूपमा समृद्धिको आधार भनेकै कम्युनिष्ट पार्टीको एकता र देशप्रतिको समर्पण हो भन्ने पुष्टि गरेर देखाउन सक्नुपर्छ, अनि मात्र पार्टी एकताको सान्दर्भिकता र औचित्य साकार हुने छ ।***

तपाईको प्रतिक्रिया