शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

भक्तपुर – विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन् ।

जर्मनीको ब्रेमन सहरबाट २२ आफन्तसहित भक्तपुर आएका ७७ वर्षीय पिटर हेस परम्परागत नेवारी पहिरनमा सजिएर पत्नी एमेलीसँगै भीमरथारोहणमा सहभागी भएका हुन् । नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ-टोल परिक्रमा गराउने परम्परा छ । यस्तो संस्कारलाई जंको अर्थात् भीमरथारोहण भनिन्छ । नेवारी संस्कृतिअनुसार जंको गर्ने व्यक्ति पुरुष भए उनकी पत्नीको स्वतः जंको हुन्छ । त्यही नियमअनुसार हेसकी पत्नी एमेली भीमरथारोहणमा सहभागी भएकी हुन् ।

 दौरासुरुवाल, इस्टकोट र ढाका टोपीमा सजिएका पिटर र चौबन्दी चोलो, नौगेडी र शिरफूलमा सजिएकी एमेलीलाई परम्परागत पहिरनमा सजिएका नेवार बालबालिकाले रथमा राखेर तानेका थिए । धिमेबाजा र बाँसुरीको धुनमा नगर परिक्रमा गराउँदा एमेली दुलहीझैं देखिन्थिन् । ‘हाम्रो देशमा उमेर बढेपछि हर्षित हुने चलन छैन,’ पिटरले भने, ‘यहाँ भने बूढो भएपछि उत्सव मनाउने चलन रहेछ ।’ यस्ता उत्सवले बुढेसकाल रमाइलो बनाउने उनको बुझाइ छ ।

भक्तपुरको जात्रा संस्कृतिमा रमाउँदै आएका उनले १५ वर्षअघि नै आफूलाई भीमरथारोहणमा सहभागी हुने सोच आएको जानकारी दिए । पेसाले इन्जिनियर पिटर ३४ वर्षअघि पहिलोपटक भक्तपुर आएका थिए । भक्तपुरको कला, संस्कृति र संगीतले मुग्ध भएका उनले त्यसयता एक सय पटकभन्दा बढी नेपाल ओहोरोदोहोर गरिसकेका छन् । ‘सुरुका दिनमा वर्षमा तीनपटकसम्म आउँथे,’ उनले भने, ‘अहिले पनि वर्षमा एकपटक त आउँदैछु ।’

तपाईको प्रतिक्रिया