शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो– फुकुओका सहरको सुमियोसी जिन्ज्या (मन्दीर) को परिसरमा अर्का एक नेपाली युवक माथी छुरा प्रहार गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले नेपाली युवकलाई पक्राउ गरेको छ । निप्पोन टेलिभिजनका अनुसार पक्राउ पर्नेमा फुकुओकाको हिगासी कुमा बस्ने जिस्यो सेन्मोन गक्कोमा अध्ययनरत २२ बर्षिय बिनोद बास्तोला रहेका छन् । उनले धारिलो हतियारद्वारा २३ बर्षिय नेपाली बिद्यार्थीमाथी प्रहार गरेर घाइते बनाएको समाचारमा उल्लेख छ ।

सो घटना यहि बिहिबार दिउँसो ५ बजेतिर भएको हो । घाइते अवस्थामा रहेका नेपाली बिद्यार्थीको टाउकोको ३ ठाउंमा गम्भीर चोट लागेको भएपनि उनी चिन्तामुक्त अवस्थामा रहेको समाचारमा उल्लेख छ । पक्राउ परेका बास्तोलाले आफुले मार्ने उदेश्यले आक्रमण नगरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार ति दुई युवकहरु एक आपसमा चिनजान नभएको तर दुबैजनाको चिनजानको एक युवतीको बिषयलाई लिएर विवाद भई यो घटना घटेको हुनसक्ने बताईएको छ । प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको समाचारमा जनाईएको छ ।

पछिल्लो समयमा नेपालीहरुद्वारा घटाइने यस किसिमका आपराधिक घटनामा बृद्धि हुन थालेको कारण जापानी समाजमा नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा फरक आउन थालेको महसुस हुन थालेको बताइन्छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया