मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

 टोकियो – जापानमा रहेका नेपालीहरुलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले बुधवार टोकियोमा निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।

अफोर्डेवल एण्ड सस्टेनेबल हेल्थकेयर एक्सेस (ASHA) को आयोजना तथा एनआरएनए जापानको बिशेष सहयोग एवं टोकियो महानगरपालिकाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा २ सय भन्दा बढि नेपालीहरु लाभान्वित भएका थिए ।

सुगिनामी वार्डको आशागाया स्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा भएको सो शिविरमा स्वास्थ्य विमाको महत्व र यसको उपयोग लगायत दैनिक जीवनमा आइपर्ने स्वास्थ्य सम्बन्धि समस्याको समाधानका बारेमा जानकारी गराइएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो । 

बिहान नौ बजेदेखि बेलुका छ बजेसम्म सञ्चालन भएको सो शिविरमा जापानको मेडिकल क्षेत्रका वरिष्ठ प्रा. डाक्टर र नेपाली डाक्टर तथा रिर्सचर गरी करिब डेढ दर्जन विशेषज्ञहरुबाट सेवा प्रदान गरिएका थियो । सो शिविरमा सामान्य चिकित्सा, दन्त रोग, मुटु रोग, एक्सरे र इसीजी तथा स्त्री रोग सम्बन्धी चेकजाँच गरिएको कार्यक्रम संयोजक डा. प्रकाश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकुल मौसमको समेत प्रवाह नगरी शिविरमा पुगेका उत्साहजनक उपस्थिति देख्दा नेपालीहरुमा स्वास्थ्यप्रतिको सचेतनामा वृद्धि आएको पाईएको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षणका लागि पुगेका अधिकांश नेपालीहरुमा जापानी भाषाको समस्याका कारण स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपरेको पाईएको शिविर व्यवस्थापनमा खटिएका एनआरएनएका पदाधिकारीहरुले बताएका छन् । यसै कुरालाई मध्यनजर राख्दै एनआरएनए जापानले जापानको १३ वटै क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर राख्ने बारे सरोकारवाला निकायसंग सहकार्य भईरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

शिविरमा टोकियो र आसपासका तथा चिबा, योकोहामा, साइतामा लगायतका क्षेत्रबाट आएका नेपालीहरुले स्वास्थ्य जाँच गराएका थिए । सेवा लिन आएकाहरुले उत्कृष्ट सेवा तथा परामर्श पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

शिविरमा छ जना जापानी चिकित्सकका साथमा डाक्टर प्रकाश शाक्य, डाक्टर सुमन श्रेष्ठ, डाक्टर मिंमा शेर्पा, डाक्टर अभिषेकी श्रेष्ठ, डाक्टर मनु कार्की, डाक्टर सुप्रिया शाक्य, डाक्टर सन्दिप शाक्य, डाक्टर ऋचा शाह, डाक्टर विजय ज्ञवालीका साथै नर्स, ल्याब टेक्निसियनहरुले पनि सेवा पुर्‍याएका थिए । ***

तपाईको प्रतिक्रिया