बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

म जापान आएको १३ वर्ष भयो, चिनेजानेका साथीभाइको सम्पर्कबाट एउटा काम पाएँ । जसरीतसरी जापान त आईयो, कसरी आइयो भन्नेतिर नजाऔं, आफु त गाउँको सिधा मान्छे, जापानी भाषाज्ञान पटक्कै थिएन । काम कस्तो गर्नुपर्ने हो त्यो पनि थाहा थिएन ? कस्ता मान्छेहरुको खटनपटनमा कजिईनुपर्ने हो ? एक किसिमको डर र उत्सुकता दुवै खालका तरंगले मनमा घर बनाउने नै भयो । एउटा भीमकाय बंगूर फार्ममा काममा लागे । जहाँ अहिले पनि कार्यरत छु ।

बाहिरको दुनियाँ केही थाहा छैन । सुरुमा गन्तब्यको नजिकसम्म आउँदा बाहेक जापानको ट्रेन चढेको अनुभव छैन । टोकियो, योकोहामा, नागोया, ओसाका, हिरोसिमा लगायतका नाम चलेका सहरहरुको नाम मात्र सुनेको छु, देख्न पाएको छैन । हप्तामा सातै दिन काम गर्नुपर्छ । महिनामा २ दिन बिदा त हुन्छ तर कुन दिन हुन्छ पत्तो हुँदैन । हप्ताभरि खान पुग्ने रासनपानी कम्पनीको साहुले घरमै ल्याईदिन्छ । अचानक अघिल्लो दिन उर्दी जारी भएपछि पाईने बिदामा कोठामै नेट चलाएर युट्युबमा गाउँघरको झझल्को मेटाउने लोकभाकाहरु सुनेर दिन बिताईन्छ । आएदेखि नेपाल जान सकिएको छैन । अब एकैचोटी नआउने गरी जाने सोंचमा छु । मसंगै अरु ५ जना नेपालीहरु पनि काम गर्छन् । उनीहरुको दिनचर्या र कहानी पनि मेरो भन्दा भिन्न छैन । बिहान ४ बजे नै उठेर हजारौ संख्याका बंगुरहरु भएको फाराममा सरसफाई गर्ने, तिनलाई दानापानी दिने र बिरामी बंगुरलाई सूई लगाउने र त्यसपछि दाना बनाउने काम मेरा दैनिकी हुन् । जापानका नेपालीहरुको जमघट, कार्यक्रमहरुका बारेमा अनलाईनहरुमा समाचार पढ्न पाईन्छ, आफुलाई पनि जानी नजानी भए पनि टाईको गाँठो कसेर त्यहाँ पुगेर साथीभाइ भेट्न, रमाउन मन लाग्छ, तर भौगोलिक विकटता र कामको प्रकृतिका कारण समय पटक्कै मिल्दैन । यसरी पनि यतिका वर्ष बित्दारहेछन्, कहिलेकाँही आफै अचम्मित हुन्छु । केही सीमित साथीहरु संग मात्र हुने फोन र फेसबुक संवादबाट न्यास्रो मेटाईन्छ र थोरबहुत अपडेट भईन्छ । आफैले रोजेको अघोषित नजरबन्दीको जीवनलाई पछाडि फर्केर हेर्दा यतिधेरै मिहिनेत गरे त हाम्रै पाखा पखेरामा पनि धेरै गर्न सकिन्थ्यो जस्तो लाग्छ । तर पनि मसक्कै आँटेर जापान माया मारेर नेपाल फर्कन सकिएको छैन । अबको एकाध वषैभित्रै शायद नेपाल फर्किने विचारमा छु, नेपाल फर्केर आफ्नै घाउँघरमा सानोतिनो उद्यम गर्ने योजनामा छु । अब त गाउँघर पनि त गाउँघर रहेन । विजुली पुग्यो, मोटर पुग्यो, नेट चल्छ अरु के चाहियो र ? आफ्नो मौलिक परिचय गुमाएर अब पनि किन सहरमा निसास्सिएर बस्नुपर्‍यो र ? जे फलाए पनि सडक सञ्जालको सुबिधाले बजार नपाउने भन्ने अवस्था रहेन । मात्रै राजनीति सङलिनुपर्‍यो । अब त केही होला भन्ने आशा पलाएको छ । घना जंगलको छेउमा अवस्थित जहाँ १२, १५ हजार बंगूर रहेको फार्ममा दिन बित्छ । सूर्योदयको देशमा बसेको छु भनेर के गर्नू ? आक्कल झुक्कल बाहेक घामको दर्शन विरलै पाईन्छ । जीवनको सबैभन्दा ऊर्जाशील युवा समय विदेशमा त्यो पनि बंगूरको स्याहार सुसारमै बित्यो । कहिलेकाँही हिनताबोध हुन्छ तर पनि आफ्नो पसिनामा कर्म गरेर खान, काम सानो ठूलो हुँदैन भन्ने हेक्का पनि मलाई राम्रो संग थाहा छ । नआउनु थियो आईसकेपछि केही त्याग गर्नुको विकल्प थिएन । काखभरिका लालाबाला पनि अब त ठूलो भईसके । हरेकपटकको टेलिफोनमा कहिले आउने ड्याडी ? भनेर गरिने उनीहरुको प्रश्नले मलाई तिखो सियोले घोचेको अनुभूति गराउँछ, तै पनि सम्हालिएर छिट्टै आउने आश्वासनमा उनीहरुलाई तत्कालका लागि थामथुम पार्दै आएको छु । आफ्ना सन्तानको बाल्यअवस्थामा टाढिनुको पीडा र बाल्यकालमा आफ्ना बाबुआमा संगै नहुनुले अबोध सन्तानलाई दिने पीडा शायद भोग्नेलाई मात्र थाहा हुन्छ होला । यसको क्षतीपूर्ती जतिसुकै धनराशीले पनि पुर्न नसकिने तथ्य ढिलै भएपनि चेत खुलेको अवस्था हो । लगन पछिको पोते भनिएझै हामीले बाटो बिराए पनि अबको पुस्तालाई सन्देश हुन सकोस् भन्ने मात्र मेरो आशय हो । मेरो पुस्ताले आज जानेर वा नजानेर जे नियति भोग्नुपरिरहेको छ, भावी पुस्ताले देशमै गर्वकासाथ आफ्ना पाखुरा बजारेर खान सकून् । उनीहरुलाई हामीले जस्तो अर्काको देशमा लामो समय अधकल्चो जिन्दगी बिताएर बूढो शरीर लिएर नेपाल फर्कन नपरे हुन्थ्यो । ***
मध्यपश्चिम नेपालका दिलप्रसाद निर्दोषी (नाम परिवर्तन) संग गरिएको कुराकानीका आधारित, जो १३ वर्षदेखि  जापानको विकट वस्तीमा अवस्थित एक बंगुर फार्ममा काम गर्दै आएका छन ।  

तपाईको प्रतिक्रिया