मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

रामजी खाँड लगायतका कलाकारहरु जापान आउँदै

टोकियो – नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाली एकता समाज जापानको वृहत साँस्कृतिक कार्यक्रम सहित प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपालबाट आमन्त्रित राष्ट्रिय जनमोर्चा नेपालका बिदेश बिभाग प्रमुख आनन्द शर्माको प्रमुख आतिथ्यतामा हुने सो सम्मेलनको उदघाटन डिसेम्वर ३१ तारिखमा ओसाकामा र बन्द सत्र एवं घोषणा सभा टोकियोमा गरिने तयारी भईरहेको सो समाजले जनाएको छ ।

सम्मेलनका अवसरमा आयोजित वृहत साँगीतिक कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरु लोक तथा दोहोरी गायक रामजी खाँड, जनबादी गायक हेमराज आश्रम र लोक तथा दोहोरी गायिका सृष्टि पुन जापान आउने भएका छन् । नेपालबाट आमन्त्रित कलाकारहरुका साथै रक्तिम परिवारको पनि साँगीतिक प्रस्तुती रहने सो कार्यक्रममा नौमती बाजाको समेत प्रस्तुती रहने बताईएको छ ।

जापानबासी नेपालीहरुका लागि आपतकालिन राहत कोष स्थापना गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सो समाजले जनाएको छ ।

‘नयाँ वर्ष जापान धमाका’ नाम दिईएको वृहत साँस्कृतिक कार्यक्रम सहितको प्रथम राष्ट्रिय सम्मेलनको ओसाका र टोकियोमा तिब्र तयारी भईरहेको सो समाजका टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष विष्णु केसीले समुद्रपारिलाई जानकारी दिनुभयो ।

महाधिवेशनकोरुपमा हुन गईरहेको प्रथम राष्ट्रिय सम्मेलनबाट सामाजको नयाँ नेतृत्व चयन गरिनुका साथै आगामी नीति तथा कार्यक्रमहरु तय गरिने योजना रहेको बताईएको छ ।

नेपाली एकता समाज जापानले हरेक नयाँ वर्षको अवसरमा नेपालका स्थापित कलाकर्मीहरुलाई जापान आमन्त्रण गरेर साँगीतिक कार्यक्रमहरु गरी त्यसबाट आर्जित आम्दानीबाट नेपालमा विभिन्न किसिमका परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।***

तपाईको प्रतिक्रिया