शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट सय एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्वको टोली आज बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।

सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रबल अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला छन् । भारतको पावर ट्रेड कर्पोरेशन पीटीसी इण्डियाका तर्फबाट डा. राजीवकुमार मिश्रा सम्मिलत टोलीसंग बिहान ११ बजे नयाँदिल्लीमा बस्ने बैठकमा ढल्केबर मुजफ्रपुरबाट विद्युत आयात तथा भारतबाट प्राप्त हुँदै आएको विद्युत आयातको निरन्तरता लगायतका बिषयमा छलफल हुने प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यसअघि हिजो विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौता नवीकरण भएको छ । सम्झौतापत्रमा  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन (पीटीसी) इण्डियाका तर्फबाट डा. राजीवकुमार मिश्राले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता अधिकारीले बताउनुभयो ।

योसंगै  नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् आयात गर्ने भएको छ ।  सम्झौताअनुसार प्राधिकरणले पीटीसीसँग प्रतियुनिट भारू ३ रुपैयाँ ४४ पैसामा विद्युत् खरिद गर्नेछ । टनकपुर नाकाबाट थप विद्युत् आयात हुँदा सुक्खायाममा विद्युतको माग  व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ ।

प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उहाँको भनाइ छ । नेपाल र भारतबीच हरेक बर्षको नोभेम्बरमा यो सम्झौताको नवीकरण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया