मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

दाङ –  माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ ।

प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन् । जिल्ला सदरमुकामसहितको महत्त्वपूर्ण क्षेत्र भएकाले दुवै नेता छाड्न चाहँदैनन् ।

महरा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पोखरेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । नेतृत्वको पहुँचमा रहेका दुई प्रभावशाली नेतामध्ये कसले यो क्षेत्रमा टिकट पाउँछन् भन्नेबारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत महरा र पोखरेल नै विषय बनिरहेका छन् ।

जिल्लामा संघ (प्रतिनिधिसभा) का लागि तीन निर्वाचन क्षेत्र भए पनि १ र ३ नम्बरमा जान दुवै जना मानिरहेका छैनन् । आफूले २ नं. क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको महराले बताए । ‘मेरो दाबी २ नम्बरमै हो,’ उनले भने, ‘अहिलेसम्म केही टुंगिएको छैन । पार्टीले टिकट दिए त्यहींबाट लड्ने हो । बाँकी कुरा उम्मेदवार टुंगिएपछि हुन्छ ।’

पोखरेलले पनि २ नम्बरमै रुचि भए पनि निर्णय नहुँदै केही भन्न नसकिने बताए । ‘अहिले वाम गठबन्धनका सबै उम्मेदवार टुंग्याउने, चुनावी घोषणापत्र र रणनीति बनाउने काममा व्यस्त छौं,’ उनले भने, ‘रुचि २ नम्बरमै भए पनि गठबन्धनको निर्णयबमोजिम अघि बढ्नुपर्ने हुन्छ ।

पार्टीका सबै नेता–कार्यकर्ताले आफ्नै नेता उठिदिए हुन्थ्यो भन्ने चाहना देखाउनु स्वाभाविक हो । तर कुरा नटुंगिँदै बहस गर्नु अलि उचित हुँदैन होला ।’ कात्तिक १० सम्म उम्मेदवार टुंगिने र त्यसपछि सबै स्पष्ट हुने उनले बताए ।

 

तपाईको प्रतिक्रिया