बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशमा फरकफरक समावेशिताको आधार तयार भएको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फ एउटै प्रदेशभित्र पनि संविधानले तोकेका क्लस्टरको आधारमा समानुपातिक समावेशीको आधार तयार पारेको हो ।  सोही आधारअनुसार ६ वटा क्लस्टरलाई आयोगले प्रदेशसभा सदस्य निर्वाचन नियमावलीमा समावेश गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै समावेशीको आधारसहित ‘क्लस्टर’ विभाजन भएको बताउनुभयो ।  सोही क्लस्टरअनुसार दलहरूले उम्मेदवारको सूची पेस गर्नुपर्ने ढकालले जानकारी दिनुभयो ।  आयोगले पारित गरेको नियमावलीअनुसार आदिवासी जनजातिको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ३ मा हुनेछ ।

प्रदेश ३ मा आदिवासी जनजातिबाट ५३.१७ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  यस्तै प्रदेश १ बाट ४६.७९, प्रदेश ४ बाट ४२ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  आदिवासी जनजातिको सबैभन्दा कम प्रतिनिधित्व प्रदेश ७ मा ३.६१ प्रतिशत हुनेछ ।  प्रदेश ५ मा १९.५८, प्रदेश ६ मा १३.६३ र प्रदेश २ मा ६.६१ प्रतिनिधित्व हुनेछ ।

यस्तै खस आर्यको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ६ मा हुने भएको छ ।  प्रदेश  ६ मा खस आर्यको ६२.२ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  यस्तै प्रदेश ७ मा ६०.०२ प्रतिशत र प्रदेश २ मा सबैभन्दा कम ४.८९ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  प्रदेश ३ र ४ बाट ३७ प्रतिशत खस आर्यको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ ।  यस्तै प्रदेश ५ बाट २८.८४ र प्रदेश १ बाट २७.८४ प्रतिशत खस आर्यको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ ।

थारू समुदायबाट सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ७ मा हुनेछ ।  प्रदेश ७ को सभामा थारूको १७.२१ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  यस्तै प्रदेश ५ मा १५.१८, प्रदेश २ मा ५.२७, प्रदेश १ मा ४.१५ प्रतिशत थारूको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ ।  सबैभन्दा कम प्रदेश ६ मा ०.५ प्रतिशत र प्रदेश ३ र ४ मा क्रमशः १.६६ र १.७२ प्रतिशत प्रतिनिधित्व हुनेछ ।

दलितको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ६ मा हुनेछ ।  त्यहाँ २३.२५ प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।  दलितको प्रदेश १ मा १०, प्रदेश २ मा १७.२९, प्रदेश ३ मा ५.८४, प्रदेश ४ मा १७.४४ र प्रदेश ५ मा १५ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  प्रदेश ७ को सभामा दलितको १७.२९ प्रतिशत प्रतिनिधित्व हुनेछ ।

जनसङ्ख्याका आधारमा तयार पारिएको क्लस्टरमा मधेसीको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश २ मा हुनेछ ।  प्रदेश २ को प्रदेशसभामा ५४.३६ प्रतिशत प्रतिनिधित्व मधेसीको हुनेछ ।  यस्तै प्रदेश ४ र ६ मा मधेसीको प्रतिनिधित्व सबैभन्दा कम छ ।  दुवै प्रदेशको प्रदेशसभामा क्रमशः ०.५२ र ०.२४ प्रतिशत प्रतिनिधित्व रहनेछ ।  मधेसीको प्रदेश ७ मा १.६४, प्रदेश ३ मा १.५७ र प्रदेश १ मा ७.५७ प्रतिशत प्रतिनिधित्व हुनेछ ।

मुस्लिमको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश २ मा हुनेछ ।  प्रदेश २ को सभामा मुस्लिमको ११.५८ प्रतिशत प्रतिनिधित्व हुनेछ ।  प्रदेश ५ मा ६.९४ र प्रदेश १ मा ३.५९ प्रतिशत प्रतिनिधित्वबाहेक अन्य प्रदेशसभामा मुस्लिमको प्रतिनिधित्व एक प्रतिशतभन्दा कम हुनेछ ।

राजनीतिक दलहरूले नियमावलीले तोकेअनुसार प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारको सूची पेस गर्नु पर्नेछ ।  हरेक प्रदेशमा पिछडिएको क्षेत्र र अल्पसङ्ख्यक समुदायबाट पनि दलहरूले उम्मेदवारको सूची बुझाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया