सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापान प्रहरीले हालै सार्बजनिक गरेको तथ्याङ्क अनुसार बिदेशी नागरिकहरुबाट हुने आपराधिक घटनाको संख्यामा २३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यस बर्षको जनवरीदेखि जुन महिनासम्मको यस्ता घटनाहरु ८ हजार ३ सय २७ वटा भएको प्रहरीलाई उदृत गर्दै निक्केइ सिन्बुनले प्रकाशित गरेको हो । यो अवधिमा बिशेष गरी भियतनामी नागरिकहरुद्वारा हुने पसलको सामान चोरीका घटनाहरुमा तिब्र बृद्धि आएको कारण समग्रमा बिदेशीको आपराधिक घटनामा वृद्धि भएको जनाईएको छ । यस्ता अपराधका घटना घटाउने अपराधीहरुको संख्यामा भने ८ प्रतिशत बृद्धि भई ५ हजार १ सय ९३ पुगेको समाचारमा उल्लेख छ ।
जापान आउने बिदेशीको संख्या सन् २०१२ को करिब ९० लाखबाट सन् २०१६ मा २ करोड ३० लाख पुगी करिब साढे दुई गुणाले बृद्धि भएको छ । यससंगै बिदेशीद्वारा हुने घटनाहरुमा पनि बार्षिक ९ हजारबाट १० हजार भन्दा बढि पुगेको प्रहरीले जनाएको छ । जापानमा आपराधिक घटनामा संलग्न हुनेहरुमा चिनिया नागरिकहरु सबैभन्दा बढि अर्थात ३० प्रतिशत रहेको छ भने दोश्रोमा भियतनामी (२३ दशलव ५ प्रतिशत र तेश्रोमा फिलिपिनी ७ दशमलव ४ प्रतिशत रहेको समाचारमा उल्लेख छ । अर्कोतर्फ आपराधिक घटनाको संख्याको आधारमा भने सबैभन्दा बढि भियतनामीद्वारा घटाईएको पाइएको छ । उक्त संख्या कुल संख्याको ३० दशमलव १ प्रतिशत रहेको छ भने चिनियाको हकमा २६ दशमलव ८ प्रतिशत र कोरियनको ७ दशमलव २ प्रतिशत रहेको छ ।
विदेशीहरुबाट हुने गरेका आपराधिक घटनामा संलग्न मध्ये सबैभन्दा बढि बिद्यार्थीहरु रहेका छन् । सो संख्या २० दशमलव ९ प्रतिशत रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमश प्रशिक्षार्थी कामदार र जापानीको डिपेन्डेन्ट भिसामा रहेकाहरु भएको तथ्याङ्क छ । बिदेशी नागरिकद्वारा गरिने अपराधहरुमा पसलको सामान चोरी गर्ने, बिभिन्न माध्यमबाट ठगी गर्ने, नक्कली रेसिडेन्ट कार्ड बनाउने, बौद्धिक अपराध र हत्याहिंसाका घटनाहरु समेत रहेका छन् ।
पछिल्लो समयमा नेपालीहरुको संख्या बढेसंगै बिभिन्न आपराधिक घटनाहरुमा यदाकदा नेपालीहरुको पनि सहभागिता रहेका समाचारहरु आउने गरेका छन् । जसको कारण नेपालीहरु पनि जापान प्रहरीको निगरानीमा परेको बताईएको छ ।

तपाईको प्रतिक्रिया