आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो-नेपालीहरुको बढ्दो आकर्षण रहेको विकसितमुलुक जापानमा आउन कतारमा राम्रो व्यवसाय संचालन गरेर बसेका गुल्मीका दिपक आचार्यलाई हतारो लाग्यो र १२ लाख तिरेर जापान छिरे, नेपाल र जापानमा रहदाँ राम्रो आम्दानी गर्ने सपनाहरु यथार्थमा परिणत हुन नसक्दा उनलाई अचेल दिक्क लाग्न थालेको छ ।

शिक्षण पेशामा रहेका बागलुङका दिपेन्द्र गौतम पनि राम्रो आम्दानी गर्ने सोचका साथ १२ लाख बुझाएर जापान त आए, यहाँ आउदा नेपालमा भनेजस्तो सेवा सुविधा पाउन सकेनन् र चार पाँच महिनासम्म कामका लागि भौातरिनु पर्यो ।
पाँच वर्ष पहिले नै कुक भिषामा जापान पसेका बागलुङकै कुलराज गौतमले पनि जापानको बसाइलाई लम्बाउनका लागि आफैले रेष्टुरेण्ट संचालन गर्न बाध्य भए । स्याङ्जा गल्याङका ध्रुव ज्ञवालीसँग २० वर्ष लामो होटल सम्बन्धी ज्ञान छ, ८ वर्ष पहिले कुक भिषामा नै जापान आएका उनी भनेजस्तो सेवा सुविधा नहुदाँ र कामको समय लामोले गर्दा हैरानीमा छन् । माथीका प्रतिनीधि पात्रका रुपमा रहेका कुकहरुको अनुभवले जापानमा रहेका अधिकांश कुकहरुको यथार्थ अवस्था पिडादायी र दयनीय रहेको वास्तविकतालाई झल्काउछ । भारतपछि एसियाको अन्य मुलुकमा भन्दा जापानमा सबैभन्दा धेरै नेपालीहरु अवसरको खोजीमा बढीजसो कुक भिषामा यहाँ आएका छन् ।

बढी समय काममा लागाइनु, नेपालमा रहदाँ भनेको सेवा सुविधा र तलब नदिनु, जापान आउनका लागि औषतमा १२ लाख रकम साहूलाई बुझाउनु, भिषा थप्दा अड्को थाप्नु, डिप्ेडेण्ट बोलाउदा थप रकम असुल्नु, जस्ता समस्या जापानमा रहेका अधिकांश कुकहरुले व्योहोर्नु परेको जापानमा कानुनी सेवा पुर्याउदै आउनु भएका अधिवक्ता बलराम श्रेष्ठको अनुभव छ ।

आफुसँग रेष्टुरेण्ट सम्बन्धी ज्ञान, सीप र क्षमता हुदाँहुदै पनि सुरुका दिनमा निकै कष्टकर जीवन व्यहोर्न बाध्य पारिनु भएका स्याङ्जा गल्याङका ज्ञावालीले कुकमा ल्याउने आफन्तहरुले नै झन् बढी समस्यामा पार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अधिकांश कुकहरुले आफुले काम गरेर पाएको तलबले आउदा लागेको ऋण तिर्न सक्ने अवस्थामा पनि नरहेको र डिपेण्डेण्टहरुमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।

ओकीनावामा रहनु भएका सिपी खरेलको बुझाईमा नेपालबाट कुकमा आउने अधिकांश डकुमेण्ट सेटिङ मिलाएर सामान्य किचनको समेत ज्ञान नभएका, भाषा पनि नजान्नेहरु नै बढी आउदा समस्यामा पर्ने गरेको बताउनुहुन्छ । ‘जापान छिर्नकै लागि नेपालमा रहदाँ हरेक कुरामा सम्झौता गर्ने अनि सीप र ज्ञान कै कमीका कारण नेपाली कुकहरुले समस्या भोग्नु परेको छ ’ उहाँको भनाई छ ।

आठ वर्ष पहिले सोही भिषामा जापान आउनु भएका कुलबिर थापाको भनाई भने अलि फरक छ । उहाँले आफु आएको भिषामा आफुले दक्षता हासिल नगर्ने अनि अरुलाई दाष थोपार्नु भन्दा आफु नै बढी सचेत हुन जरुरी छ । ‘बरु दुवइ कतार नै ठिक छ’ बागलुङमा जुत्ता चप्पलको व्यवसायलाई छाडेर ३ वर्ष पहिले जापान आउनु भएका अमृत शर्माले गहभरि आशु पार्दै भन्नुभयो–आफुले केही काम जानेको छैन ५/६ महिना भयो खाली बसेको छु आउदाँ लागेको १२ लाख ऋण अझै तिर्न सकेको छैन, कामको केही सिस्टम नै नहुने हुदो रहेछ निकै दुख पाको छु ।
जापानमा पछिल्ले समयमा फस्टाउदै गएको रेष्टुरण्ट व्यवसायमा नेपालीहरुले नेपाली नै ठग्ने क्रम दिनानु दिन बढ्दै गएको छ, यसले भोलिका दिनमा विकराल समस्या सृजना गराउने बुझाई यहाँका जानकारहरुको रहेको छ ।

विश्वका अन्यमुलुकको तुलनामा जापानमा व्यवसाय गर्ने नेपालीको संख्या पनि निकै बढी नै रहेको छ । यस सँगसँगै यसमा काम गर्ने कुकहरुलाई पनि ठग्ने, भने अनुसार तलब सुविधा नदिने, चर्को मुल्य नेपालमा नै असुल गर्ने र यहाँ ल्याईसकेपछि कुनै जिम्मेवारी वहन नगर्ने गर्दा कुक भिषामा आउनेहरुमा विभिन्न समस्या सृजना भएका छन् ।

‘सोचेजस्तो आम्दानी छैन नेपालमा रहेका परिवारको अपेक्षा बढेको छ’ कुकका रुपमा कार्यरत दिपक रानाले गुनासो गर्नुहुन्छ यसले गर्दा कुकहरुमा डिप्रेसन लगायतका समस्या देखिन थालेका छन् । करिब २०–२२ हजारको संख्यामा कुकको रुपमा जापानमा नेपालीहरु कार्यरत रहेको पाईन्छ । यतिका संख्यामा नेपालीहरु रहेपनि र चौतर्फी रुपमा कुकहरुले भोग्नु परेका समस्याहरु छताछुल्ल हुदाँ पनि सरोकारवाला निकाय नेपाली राजदुतावास, NRNA लगायत विभिन्न संघ संस्थाले यसतर्फ ध्यान नदिनु शंकाको विषय रहेको कुकहरुको आरोप छ । उनीहरुले सरोकारवाला निकायहरु पनि रेष्टुरेण्ट मालिकसँग मिलेमलोमा रहेर श्रमिकहरुप्रति वेवास्ता गर्ने गरेको गुनासो उनीहरुको छ ।

जापानमा आएर आफ्नो आर्थिक स्तरलाई सुदृढ पार्ने सुन्दर सपना सजाउनेहरुले पहिले आफु जान लागेको कामप्रति कति दक्ष छु, यसको लागत प्रक्रिया के हो, सम्झौता अनुरुप दुवै पक्षले काम गरे गरेनन् भन्ने कुराको हेक्का राख्न जरुरी छ ।
यहाँ आउनेहरुले भाषा संस्कृतिकाबारेमा सामान्य रुपमा भएपनि जानकारी राख्नुपर्ने, आफुले गर्ने कामप्रति आफु दक्ष रहने, नेपाल सरकारको नीति बमोजिम वैदेशिक रोजगारका लागि आर्थिक कारोवार गर्ने र सम्झौतामा उल्लेख भए बमाजिम कार्य गर्न गराउन नेपाली राजदुतावास जापानका अधिकारहिरुको आग्रह छ ।

जापानमा रेष्टुरेण्ट खोल्ने अधिकांशको सोच नेपालबाट कुकका रुपमा मान्छे ल्याएर आफ्नो लगानी उठाउने हुने गरेकाले त्यस्तो गलत सोचको अन्त्य गर्दै दक्ष कामदार ल्याउने, सम्झौता बमाजिम काम गर्ने गराउने, यहाँको वास्तविक अवस्थाको जानकारी दिएर मात्र भिषा आवेदन गर्न लगाउने गरिनुपर्छ । कुक भिषामा आउनेहरुले पनि आफ्नो हातमा सीप लिएर मात्र आउनुपर्ने, लागत अनुसार आम्दानी हुने कुरामा निश्चित हुने, कामप्रति जवाफदेही रहने, मेहनत,इमान्दारीता र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने अहिले देखिएका समस्याहरु न्यूनिकरण हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया