बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – नेपालबाट जापान छिरेपछि रेष्टुरेण्ट खोलेर मनग्य आम्दानी गर्ने विनोद (नाम परिवर्तन) को सपना त्यतिबेला चकनाचुर भयो, जतिबेला ४० लाख लगानी गरेर खोलेको रेष्टुरेण्ट ६ महिना नपुग्दै बन्द गर्नुपरयो ।
जापान आएको एक वर्ष नबित्दै रेष्टुरेण्ट खोल्न कस्सिएका भूमिराजले पनि पुग नपुग ६ महिना नपुग्दै रेष्टुरेण्ट बन्द गरेर आफ्नो थाप्लोमा ३० लाख जति ऋण बोकाए ।
तर जापान आएका दिलु खत्रीको भने रेष्टुरेण्ट संचालन गरेको करिब १५ वर्ष भैसक्यो, यसैले उनलाई धनाढ्य बनाउन सहयोग गरयो ।

यी माथिका सफलता र असफलताका कथा पछिल्लो समय जापानमा प्रशस्त देख्न, सुन्न र हेर्न पाइन्छ । १९०२ मा पहिलो पटक ८ जना नेपाली विद्यार्थी जापान आएको तथ्यांक पाइए पनि कुकका रूपमा नेपालीहरु कहिले आए भन्ने भरपर्दो तथ्यांक नभए पनि करिब ३०–४० वर्ष पहिलेदेखि यता अहिलेसम्म करिब २०–२२ हजारको संख्यामा नेपालीहरु कुक भिसामा कार्यरत रहेको पाइन्छ ।

कुक भिसामा जापान आउने र रेष्टुरेण्ट व्यावसायबाट राम्रो आम्दानी गरेको देखेपछि उक्त व्यावसाय संचालन गर्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढ्दै बढेको छ । कतिपयले त राम्रो आम्दानी पनि गरेका छन् भने धेरैले असफलता हात पारेको अनुभव उत्तम श्रेष्ठलाई छ । उहाँ भन्नुहुन्छ–अहिलेको अवस्थामा रेष्टुरेण्ट खोल्नु भनेको नभएको ऋणलाई बढाउनु हो ।

ओसाकामा चार वर्षदेखि रेष्टुरेण्ट व्यावसाय संचालन गरेका बागलुङ मल्मका शिवु थापाका अनुसार होटल सम्बन्धि पर्याप्त ज्ञानको कमी, भाषाको समस्या, मेहनतको कमी कै कारण नेपालीद्वारा संचालित  रेष्टुरेण्टहरुले नाफा कमाउन नसकेका हुन् ।
जापानको शिनअाेकुवाेमा रेष्टुरेण्ट संचालन गर्दै आउनुभएकी प्रेमिला गौचनको बुझाईमा पेशागत हिसाबले रेष्टुरेण्ट संचालन गर्नुभनेको जटिल चुनौतीलाई सामना गर्नु जस्तै हो । जापान सरकारको नीति नियमभित्र रहेर यो व्यवसाय गरिनुपर्ने, विभिन्न मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने भएकोले लगानी बढ्नु त स्वभाविकै भयो त्यसमाथि सुरूवाती चरणमा हुने घाटालाई सहन गर्न नसक्दा छिट्टै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने गौचनको बुझाई छ ।

नेपालबाट जापानमा राम्रो अवसर देखेर ठूलो लगानी गर्दै नेपालीहरु कुक भिषामा जापान आउन निकै इच्छुक देखिन्छन् । विभिन्न चरणहरु पार गर्दै जापान आईपुगेपछि सोचेजस्तो आम्दानी गर्न नसम्क्दा विकल्पको खोजी मार्फत रेष्टुरेण्ट व्यावसाय संचालन गर्ने गरेको गलकोट सेवा समाजका पूर्व अध्यक्ष हर्क थापा बताउनुहुन्छ ।

जापानको व्यावसायिक अनुभवको कमी, लगानीको अपर्याप्तता देखासिकी लगायत कारणले व्यावसाय असफल छन् भने रेष्टुरेण्ट व्यवसायका बारेमा राम्रो ज्ञान र अनुभव, जापानी संस्कृति, मान सम्मान, सरसफाई भाषा लगायतको ज्ञान भएमा व्यावसाय सफल हुने गरेको उहाँको ठम्याई छ । अर्थात नागोयामा रेष्टुरेण्ट व्यवसाय गरेर बसेका तुलविर थापाको भने अनुभव अलि भिन्न छ, ढुङ्गाको भर माटोलाई माटोको भर ढुङ्गालाई भने जस्तो सुमधुर सम्बन्ध साहु र कुकका बिचमा नहुंदा र अस्वस्थ प्रतिष्पर्धाले गर्दा व्यावसायमा असफलता व्यहोर्न बाध्य छन् ।

रेष्टुरेण्ट व्यवसायमा राम्रो सफलता हात पार्नु भएका दिलु खत्रीले भने दक्ष कुकको व्यवस्था, कुशल व्यवस्थापन, कुकहरुलाई होटलप्रति उत्तरदायी र अपनत्वको भावना विकास गराउन सक्नु र समयमै तलब सुविधा उपलब्ध गराउन सकेमा सफलता पाउन सकिने बताउनुहुन्छ ।

जापान आउनकै लागि कागजात मिलाएर कामको अनुभव र दक्षता नभएकाहरु कुकका रुपमा आउँदा भनेजस्तो काम र तलब नपाउँदा आफ्नो भिषा जोगाएर जापान बस्नका लागि मात्र पनि रेष्टुरेन्ट संचालन गर्ने गरिएको समेत पाईन्छ । यसले गर्दापनि व्यवसाय सफल भन्दा असफलतातर्फ उन्मुख हुने गरेका छन् ।

रेष्टुरेन्ट चल्ने लोकेशन, गुणस्तरीय सेवा, जापानी संस्कार र संस्कृतिको बारेमा ज्ञानको कमी, उपयुक्त मेन्यूको अभाव, भाषाको समस्याका कारण ग्राहकको चाहना बुझ्न कठिनाई, कामप्रतिको लगनशीलता र दक्षता लगायतको कारणले पछिल्लो समय जापानमा रहेको इण्डियन–नेपाली रेष्टुरेण्टहरुको व्यापारमा कमी आएको यस क्षेत्रका जानकारहरु बताउँछन् । जापानमा यति नै संख्यामा इण्डियन–नेपाली रेष्टुरेण्टहरु रहेका छन् भन्ने यथार्थ तथ्यांक भने पाउन सकिएको छैन । ***

तपाईको प्रतिक्रिया