काठमाडौं – डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध चिकित्सक संघले आजदेखि आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीलाई समस्या भएको हो । बहिरंग सेवा लिन पुगेका बिरामीहरु अस्पताल पुगेर त्यसै फर्कनु परेको छ ।
मन्त्रीपरिषदको गत सोमबारको बैठकले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सक नै जिम्मेवार हुने र क्षतिपूर्ति पनि चिकित्सकले नै तिर्नुपर्ने मनसायसहितको विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्णयको विरोधमा डाक्टरहरुले बिहीबार काठमाडौंको माइतीघरमण्डलामा प्रदर्शन गरेका थिए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ मा उपचारका क्रममा लापरबाही भई बिरामीको ज्यान गएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरबाही गरिएको ठहरिएमा, क्षतिपूर्ति दिलाउने स्पष्ट व्यवस्था हुँदाहुदै सरकारले यस्तो निणर्य गर्नु गलत भएको संघले ठहर गरेको छ ।