आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – तेलले मसाज गर्नु कपालको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कपालमा लगाउन विभिन्न किसिमका तेल पाइन्छन् । तर, सबै कपालका लागि उही तेल उपयुक्त हुँदैन । कपालको प्रकृतिअनुसार तेल छनोट गर्नुपर्छ :

कपाल अनुसार तेल
सुक्खा कपालमा नरिवलको तेल लगाउनु राम्रो हुन्छ । यसले सुक्खापन कम गराएर कपाललाई नरम बनाउन भूमिका खेल्छ । खासगरी कलरिङ गरेर सुक्खा भएको कपालमा नरिवलको तेल उपयोगी हुन्छ ।

कलरिङ गरेको कपाल मात्रै सुक्खा हुन्छ भन्ने होइन । सामान्य अवस्थामै पनि कतिपयको कपाल सुक्खा हुन्छ । यस्तो कपालमा भने जैतुन या तोरीको तेल लगाउनु राम्रो हुन्छ ।

सुक्खा नभएको सामान्य कपाललाई बिग्रिन नदिन र स्वस्थ राख्न पनि तेल आवश्यक पर्छ । यस्तो कपालका लागि बदामको तेल उपयुक्त हुन्छ ।

प्रयोग गर्ने तरिका
नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउँदा पोषण प्राप्त हुन्छ र तेलको प्रभावकारिता कपालमा पर्छ ।

नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने पातलो (ननस्टिकी) तेल रोज्नुपर्छ । नुहाएपछि बाहिर निस्किँदा कपालमा बाक्लो प्रकृतिको तेल लगाउँदा चिपचिप हुने र अनुहारसम्म लतपतिन्छ ।

कपालमा धेरै तातो तेल भने प्रयोग गर्नुहुँदैन । राम्रोसँग तताएपछि मनतातो बनाएर मात्रै लगाउनुपर्छ । तातो तेलले कपालको जरा उल्टै कमजोर बनाउने तथा रङ खुइल्याइदिन्छ ।

तपाईको प्रतिक्रिया