शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – साउन, भदौ र असोज यसै पनि जग्गाको कारोबारमा मन्दी हुने बेला, झन् कृषियोग्य जग्गाको प्लटिङ रोक्का गरिएपछि लगनखेल (ललितपुर)को मालपोत कार्यालयमा भीडभाड स्वाट्टै घटेको छ । दिनमा एक(डेढ दर्जन सेवाग्राही कित्ताकाटका लागि आउँथे ।

साउन २६ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जमिन प्लटिङ गर्न रोक्का गरेपछि कित्ताकाट शून्य छ । रोक्का गर्नुभन्दा अघिल्लो दिन १८ सेवाग्राहीले कित्ताकाट गरेका थिए । सर्वोच्च अदालतले गत बिहीबार सो रोक्का कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरे पनि मन्त्रालयले आदेशअनुसार फुकुवाको सर्कुलर नगरेकाले प्लटिङ रोक्का कायमै छ ।

प्रमुख मालपोत अधिकृत घनश्याम उपाध्यायका अनुसार कृषियोग्य जमिनको प्लटिङ रोक्का नहुँदा जग्गा किनबेचमध्ये ३० प्रतिशतको हाराहारीमा कृषियोग्य जमिनको कित्ताकाट हुन्थ्यो । रोक्का भनेपछि सबैखाले जग्गाको कित्ताकाट बन्द भएको भ्रमका कारण पनि कतिपय सेवाग्राही मालपोत पुगेनन् । जब कि अंशबन्डा भई कित्ताकाट गर्न रोक थिएन । जग्गाधनीले कित्ताकाट गरी जग्गा बेच्न पनि सक्थे ।

तर खरिदबिक्री भएको एक वर्षसम्म पुनः कित्ताकाट गर्नचाहिँ रोक थियो । चारखालस्थित मालपोतमा चाहिँ प्लटिङ रोक्काको कुनै असर देखिएन । सर्वोच्चको आदेशानुसार तत्कालका लागि फुकुवा गर्नुपर्ने भए पनि कृषियोग्य जग्गाको प्लटिङ रोकिछाड्ने तयारीमा मन्त्रालय छ ।

तपाईको प्रतिक्रिया