शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ ।

बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जान दबाब दिएका छन् ।

अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबारदेखि प्रारम्भ भएको बैठकमा सहभागी १२ जना पदाधिकारीमध्ये अधिकांशले ०७२ असोज ३ मा जारी संविधानका पक्षमा ९० प्रतिशत सांसद रहेको दाबी गर्नेहरूविरुद्ध संशोधनका पक्षमा सके दुईतिहाइ अन्यथा बढीभन्दा बढी प्रतिशत मत ल्याई संविधान सर्र्वसम्मत नरहेको प्रमाणित गर्ने हिम्मत गर्न माग गरेका थिए ।

संशोधनको खेलमा जाँदा परिणाम स्विकार्न नसक्ने नेतृत्वको आलोचना गर्दै केही पदाधिकारीले भनेका थिए, ‘खेल खेल्न जाने तर नियम स्वीकार गर्दिनँ भन्ने नेतृत्वले मधेस र मधेसीको माग सम्बोधन गर्ने र राजपालाई बचाउने सम्भावना देखिँदैन ।’

‘संशोधनको पक्षमा सके दुईतिहाइ, नसके बढीभन्दा बढी मत ल्याउनुको अर्थ सत्ता समीकरणमा गम्भीर र निर्णायक प्रभाव पार्न सक्नु हो’, उनीहरूले जोड दिएका थिए ।’राजपा संशोधनको खेलमा जानै पर्छ ।

खेलमा गएपछि त्यसको परिणाम जे भए पनि स्विकार्नै पर्छ’, उनीहरूको नेतृत्वलाई दबाब थियो । ती सदस्यहरूले एकै पटक शतप्रतिशत माग पूरा भएको इतिहासमा कहीँ-कतै नभएको स्मरण गराउँदै अध्यक्ष ठाकुरसहितका पदाधिकारीलाई चुनौती दिएका थिए ।

तपाईको प्रतिक्रिया