शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तेस्रो चरणको निर्वाचन पनि बहिष्कार गर्ने बताउँदै आएको छ । तर, राजपाको बहिष्कारकै बीचमा सरकारले दोस्रो चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेको छ । सरकारप्रति रुष्ट रहेको राजपाले पार्टी विधान तयार पारेको छ भने दल दर्ताको तयारी पनि गरेको छ । राजपाको यो कदमलाई कतिपयले निर्वाचनमा जाने संकेतको रुपमा लिएका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग नेपाली समाचारका लागि नृप रावलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

स्थानीय तहको निर्वाचनमा भाग नलिएकोमा पछुतो लागेको छैन ?
छैन । पछुतो लाग्ने भए त हामी निर्वाचनमा गइहाल्थौं नि । अर्काे कुरा संविधान जारी भएकै दिनदेखि मधेस र मधेसीको खोसिएको अधिकार र थप अधिकारका लागि हामी संघर्षरत छौं । सरकारले हाम्रो माग पूरा नगर्नुको सट्टा निरंकुश शैलीले सेनालाई सडकमा उतारेर गरेको निर्वाचन अधिनायकवादी शैली हो । यसरी गरिएको निर्वाचनबाट केही खुशी भए होलान् तर मधेसका जनता खुशी भएका छैनन् ।

असोज २ मा हुने तेस्रो चरणको निर्वाचनमा भाग लिने कि नलिने ?
हेर्नुस्, हामी हाम्रा माग पूरा गराउन निरन्तर सरकारसँग माग गरिरहेको छौं, तर सरकारले माग पूरा गर्न लाचारीपन देखाएको छ । नयाँ सरकार गठन हुने बेला भएको सहमतिको समेत बेवास्ता गरिएको छ । यस्तो अवस्थामा रापजा तेस्रो के चोथौं चरणको निर्वाचनमा पनि जाँदैन । यदि जबरजस्ती चुनाव गराइन्छ भने राज्यले ठूलो क्षति व्यहोर्नुपर्छ ।

तपाईंहरुले विधान बनाउनुभयो, अब दल दर्ताको लागि दौडधुप गर्दै हुनुहुन्छ । यसले त निर्वाचनमा जाने संकेत देखाउँ छ नि ?
विधान निर्माण र दल दर्ता पार्टी प्रयोजनको लागि हो, यस्लाई कुनै निर्वाचनमा जाने तयारी भनेर नबुझौं । मैले बारम्बार भन्दै आएको छु कि माग पूरा नभएसम्म राजपा निर्वाचनमा जाँदैन । हो, हामी विधान निर्माणको लागि छलफलमा छौं, दल दर्ताको तयारी हुँदैछ, यसलाई राजपा निर्वाचनमा जाने तयारी गर्दैछ भनेर बुझ्नु मिथ्या हुनेछ ।

निर्वाचनमा जाँदा पत्तासाफ हुने डरले राजपा भागिरहेको छ भनिन्छ नि ?
मधेस र मधेसीको अधिकारको लागि भएका आन्दोलनमा धेरै साथीहरुले सहादत प्राप्त गर्नुभएको छ । आफ्नो अधिकारका लागि गोली थाप्ने योद्धाहरुको रगतको मुल्याङ्कन भएको छैन, त्यसकारण नभएपछि हाम्रो लागि निर्वाचन गौण हो । हामी, पत्तासाफ हुने डरले नभइ जुन माग लिएर आन्दोलनमा गएका छौं त्यो नै पूरा नहुने भएपछि निर्वाचनमा नगएको हौं ।

मधेस आन्दोलनको सुरुवात गर्ने उपेन्द्र यादव नेतृत्वको दल जनताको मत हाल्ने अधिकार रोक्नुहुँदैन भन्दै निर्वाचन जानुभयो । तपाईंको कुनै प्रतिक्रिया छ ?
सहिदको रगतलाई अवमुल्यन गरी आत्मसमर्पणवादी शैलीले कसले के गरे, त्यसको मुल्यांकन हामीले होइन, जनताले भविष्यमा अवश्य गर्नेछ । हामी हाम्रो मागलाई बेवास्ता गरेका कारण निर्वाचनमा गएनौं । उपेन्द्रजी के स्वार्थपूर्तिका लागि आन्दोलन छोडेर चुनावमा जानुभयो यो प्रश्न उहाँलाई नै सोध्दा वेश होला ।

सरकारले त निर्वाचनपछि तपाईंहरुको माग संबोधन गर्ने भनेकै थियो ? भोट दिएको सरकारलाई किन नपत्याउनु भएको त ?
हामीलाई खेलौना बनाउने काम विगतदेखि नै सुरु भएको हो । कागजी सहमति र सम्झौता भएर हुँदैन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ । मौखिक रुपमा सरकारले भन्ने हामी मान्दै जाँदा आज यो अवस्था आयो । हामीले सरकारलाई सजिलो बनाउनका लागि निर्वाचनमा जाँदैनौं, हाम्रा मागको सम्बोधन गरी चुनावमा जाने वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्ने हो तर त्यो भएन ।

तपाईंहरु एकपछि आर्को माग तेस्र्याउँदै बखेडावाजी गरिरहनु भएको छ । खास बटमलाइन चाहिँ के हो ?
आरोप जसले जे लगाए पनि हुन्छ, हामी तिनीहरुको मुख थुन्न सक्दैनौ । हाम्रो मुख्य बटमलाइन भनेको संविधान संशोधन हो । जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हाम्रो आन्दोलन रोकिदैन । जुन संविधानले हाम्रो अधिकारलाई कुण्ठित गरेको छ त्यही संविधानलाई मानेर निर्वाचनमा जानु भनेको आत्मसमर्पण गर्नु हो । जनसंख्याका आधारमा स्थानीय तहको संख्या थपिनुपर्ने र आन्दोलनका क्रममा लागेको मुद्धा फिर्ता लिनुपर्ने हाम्रा माग हुन् । यो विभेदकारी संविधान संशोधन नभएसम्म हामीलाई कसले के भन्छ त्यसको कुनै मतलव छैन ।

तपाईंहरु आन्दोलनकै मात्र कुरा गर्नुहुन्छ । तर, पछिल्लो निर्वाचनमा तपाईंकै पार्टीका नेताको गाउँमा सत्तरी प्रतिशत मत खस्यो नि ?
तराई मधेसका लाखौं जनता आफ्नो अधिकार प्राप्तिका लागि छातीमा गोली खान तयार भएर सडकमा छन् । तपाईं यो शक्तिलाई पाखा लगाएर यस्तै झिना मसिना कुरालाई मात्रै कोट्याउनु हुन्छ भने मेरो भन्नु केही छैन । राज्यले नेपालमा पनि मधेस छ, त्यहाँ पिछाडिएका मधेसी, थारु, मुस्लिम, आदिवासी जनजाती पनि छन् भन्ने कुरालाई पनि बिर्सनुभएन ।

माग सम्बोधन भएर २ नम्बर प्रदेशको निर्वाचनमा तपाईंको पार्टीले भाग लियो भने तपाईंहरुको हैसियत के हुन्छ ?
त्यो जनताले फैसला गर्नेछन् । यसबारे धेरै बहस नगरौं, अहिले सबैलाई थाहा छ कि राजपालाई सिध्याउने खेलहरु भईरहेका छन् । त्यसबाट पनि हामी सचेत छौं ।

अब के सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुन्छ त ?
यहि रबैया सरकारले प्रदर्शन गर्दै जाने हो भने हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । सरकारले हाम्रा माग र मुद्धालाई सामान्यरुपमा पनि हेर्दैन भने सरकारलाई समर्थन गरिरहनुको कुनै अर्थ छैन ।

एमालेसँग सहकार्य हुँदैछ भन्ने चर्चा पनि सुनिन्छ नि ?
त्यो राजपालाई सिध्याउने प्रपोगाण्डा मात्र हो । जुन किसिमले पछिल्लो समयमा एमालेसँग राजपालाई जोडेर समाचार आएका छन् । त्यसमा कुनै सत्यता छैन । हामी राजनीतिक दलको हिसाबले सम्बन्ध बिगार्दैनौं र तत्काल सहकार्य पनि गर्दिनौं ।

तपाईको प्रतिक्रिया