सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – गत सोमबार छिमेकीको मेलापात सकेर वैत्येश्वर गाउँपालिका नाम्दुकी ३४ वर्षिया उर्मिला तामाङ घर फर्किनुभयो । दुई दिनदेखि लगातारको मेलापातले लखतरान उहाँले कान्छो छोरा अमिरलाई गाउँ नजिकैको नाम्दु बजारमा मासु किन्न पठाउनुभयो । छोरा मासु बोकेर फर्किए र लेखपढतिर लागे।

उर्मिला खाना बसालेर मासु पकाउने तर्खर गर्न थाल्नुभयो। अँगेनामा कराई बसाल्नुभयो। तेल हाल्नुभयो। प्याज काट्दै हुनुहुन्थ्यो। यतिकैमा श्रीमान कुमार रक्सीले मातेर हल्लिँदै घर भित्र पसे। भान्सामा प्याज काट्दै गरेकी श्रीमतीलाई तथानाम गाली गरे।

त्यती मात्र होइन, केही बेरपछि श्रीमान् अँगेनातिर बढे। तातो कराई उचाले। तातिएको तेल उर्मिलाको अनुहार तिर खन्याइदिए। तातो तेल अनुहारमा परेकी उर्मिला चिच्याउनुभयो। उहाँको चित्कारमाथि श्रीमान् अझ बढी क्रुर देखिए। उनी आगो झोस्ने तयारी गर्दै थिए।

यतिकैमा छिमेकी घरका देवर र देउरानी काका ससुरा आइपुगे। उनीहरुले उर्मिलालाई उद्धार गरी मैनापोखरी बजारतर्फ लिएर गए। त्यहाँ उहाँको उपचार हुन नसकेपछि उहाँलाई राजधानी पठाइएको छ।

बिहिबार साँझ राजधानीस्थित टिचिङ अस्पतालबाट टेलिफोनमा कुरा गर्न खोज्दा उर्मिलाका गला अवरुद्ध भए। पोलेका घाउका कारण रुदै राम्ररी बोल्न नसकेकी उहाँ न्यायका लागि अपिल गर्नुभयो ।

दिनहुँजसो रक्सी सेवन गरेर आउने र श्रीमतीमाथि हातपात गर्ने गरेका कुमार सोमबार तेल खन्याएपछि फरार छन्। उनले उर्मिलाको उद्धार गर्ने काका ससुराको छोरासहितका छिमेकीलाई फोनबाट धम्की दिइरहेको उर्मिलाका दाजु अमित तामाङले बताउनुभयो ।

उर्मिलाको राजधानीको शिक्षण अस्पतालको सर्जिकल वार्डको ३७ नम्बर बेडमा उपचार भइरहेको छ। तातो तेलका कारण अनुहार र छातीमा लागेको चोटले उर्मिला घाईतेसँगै विक्षिप्त हुनुहुन्छ । उहाँको चोटमा चिकित्सकले मल्हम दिएका छन्।

१९ बर्षको उमेरमा विवाह गरेकी उहाँको दुई छोरा र एक छोरी छन् । गत वर्ष एसएलसी दिएपछि जेठो छोरो सागर कलेज पढ्न राजधानी गएका थिए। उहाँ कान्छो छोरा र कान्छी छोरीसँगै गाउँमै बसेर गुजारा चलाउँदै आउनुभएको थियो। बाबुले आमालाई लामो समयदेखि दुःख दिने गरेको र कुटपिट गर्ने गरेको छोरा सागरले सुनाए।

उर्मिलाका दाई अमितले भिनाजु कुमारले बाहिर केटीसँग सम्बन्ध राख्ने गरेको र अत्यधिक मादक पदार्थ सेवन गरेर बहिनीलाई दिनहुँ जसो कुटपिट गर्ने गरेको दाबी गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले फरार रहेका उर्मिलाका श्रीमान् खोजी गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । ‘खोजीका लागी प्रहरी परिचालन गरिसकिएको छ’ उहाँले भन्नुभयो, ‘प्रहरीले छ्टिटै पक्राउ गर्नेछ।’

तपाईको प्रतिक्रिया