आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – एक दशकदेखि कतारमा कार्यरत गोरखाका रितेश ढकाल मंगलबार त्यहाँका मुख्य पाँच सुपरमार्केट पुग्नुभयो । लुलु, क्यारिफोर, अलमिरा, सफरी मल, फ्यामेली फुड सेन्टर र क्वालिटी हाइपर मार्केटमा उहाँले अघिल्लो दिनजस्तो भीडभाड भने देख्नुभएन् ।

साउदी अरब लगायत ७ देशले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरेको सूचना फैलिएलगत्तै सोमबार यिनै सुपरमार्केटमा सामान किन्नेको घुइँचो थियो ।

सबैले एकैचोटि जोगाड गर्नतिर लाग्दा पछि पुग्नेलाई खाद्यान्न अभाव भएको थियो । ‘रित्तै भइसकेका यी सुपरमार्केट मंगलबार भने भरिभराउ भइसकेका छन् । चामल, पिठो, अण्डाजस्ता सामान टन्नै छ,’ ढकालले भन्नुभयो, ‘उपभोक्ताहरुमा पनि अभावको चिन्ता हटेको देखियो ।’

उहाँले अलमिरा मार्केटमा भने टर्कीबाट ल्याइएको दूध देखेको बताउनुभयो। ‘कतारमा साउदीबाट मात्रै दूध आउने गर्थ्यो । एक दिन पनि अभाव नहोस् भनेर टर्कीबाट ल्याइसकिएछ,’ उहाँले भन्नुभयो, ‘मिनरल वाटर र तरकारी पनि थिए ।’

खोटाङका प्रेमप्रसाद भट्टराई मार्केटमा सामान खरिद गर्न जानुभएको छैन् । ‘परिवार भएका, रेस्टुरेन्ट व्यवसायी र क्याटरिङ संचालकले भण्डार गर्न बढी सामान खरिद गरे । हामीजस्ता कामदारलाई धेरै भण्डार गर्न जरुरी थिएन,’ उहाँले भन्नुभयो ‘हिजो हामी निकै डरायौं तर (मंगलबार) मन हलुको भएको छ ।’

कतारको अर्थ व्यवस्था तथा वाणिज्य मन्त्रालयले खाद्यान्न पर्याप्त रहेको र मूल्यमा तलमाथि नहुने भन्दै पटकपटक दोहोर्‍याइरहेकाले चिन्ता नलागेको भट्टराईले बताउनुभयो ।

‘हामीजस्ता आप्रवासीको जीवन सामान्य छ । धेरै चिन्ता हटेको छ,’ उहाँले भन्नुभयो, ‘बरु नेपालमा भएका परिवार, आफन्त बढी चिन्तित भएका छन् । यताको विषयलाई लिएर आत्तिनु पर्दैन ।’

तपाईको प्रतिक्रिया