मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – संसद् सचिवालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार ११ बजे प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यसूची थियो । तर, चितवनको भतरपुरमा पुनः मतगणना गर्नुपर्ने तथा संसद्बाहिरबाट सुरु गरिएको निर्वाचन प्रक्रिया मान्य नहुने भन्दै एमालेले संसद् अवरोध कायमै राख्ने जनाएको थियो।

सभामुख ओनसरी घर्तीले सहमतिको प्रयासका लागि ३ बजेसम्म सूचना टाँसेर बैठक स्थगित गर्नुभएका थियो । सहमति प्रयासस्वरूप दिउँसो २ बजे सभामुखको आह्वानमा संसद् भवनमै शीर्ष बैठक बसेको थियो। बैठक सुरु हुनासाथ एमाले अध्यक्ष केपी ओलीले संसद्बाहिरबाट निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएकाले सहमतिका लागि दुई दिन बैठक स्थगित गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावलाई प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहमति जनाएपछि मंगलबारसम्म बैठक स्थगित भएको हो।

१. आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट चितवनको भरतपुरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट परेको छ। आयोगको निर्णयमा रोक लगाएर पुनः मतगणनाका लागि अन्तरिम आदेश माग गर्दै परेको रिटमा सोमबारबाट सुनुवाइ अघि बढ्ने भएकाले मंगलबारसम्म अदालतको आदेश पक्षमा आउन सक्ने एमालेको बुझाइ छ।

पुनः मतगणनाको माग राखेरै संसद् अवरोध गरेकाले यसबारे अदालतबाट आउने जुनसुकै आदेशलाई स्विकारेर जान सकिने तयारीका साथ एमालेले दुई दिन संसद् स्थगितको प्रस्ताव गरेको हो।

२. संसद्बाहिरबाट प्रक्रिया सुरु भएको अडान राष्ट्रपतिको पत्र संसद्लाई जानकारी नगराई बाहिरबाटै सभामुखले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै एमालेले मान्य नहुने अडान राखेको छ।

सभामुखले तोकेको कार्यतालिकाअनुसार निर्वाचन नभएपछि संसद्मा राष्ट्रपतिको पत्र जानकारी गराएर पुनः प्रक्रिया अघि बढाउन एमाले सकारात्मक भएको छ। ‘हामी संसद्भित्रैबाट निर्वाचन प्रक्रिया टुंग्याउनुपर्छ भन्नेमा थियौँ।

तर, उम्मेदवारी मनोनयन गर्नेबित्तिकै कांग्रेसलाई रातारात प्रधानमन्त्री भइहालिन्छ भन्ने लाग्यो,’ एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो, ‘तर, उहाँहरू पनि पुरानो कार्यतालिका स्थगित गराएर बैठक सार्न सहमत हुनुभएकाले अब सहमतिका आधारमा प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।’

३. उम्मेदवारीबारे द्विविधामा एमाले शीर्ष बैठकमा प्रधानमन्त्रीमा उम्मेदवारी दिन चाहनेका लागि खुला गर्नुपर्ने धारणा एमाले नेताहरूले राखेका छन्। तर, उम्मेदवारी दिने कि नदिने भन्नेमा एमालेमा द्विविधा छ।

‘अहिलेसम्म उम्मेदवार उठाउने विषयमा कुनै निर्णय गरिसकेका छैनौँ,’ एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘तर, उम्मेदवारी दिए पनि नदिए पनि पक्ष, विपक्षमा मत हाल्न पाइन्छ। एउटा मात्रै उम्मेदवारी पर्दैमा निर्विरोध हुने व्यवस्था बहुमतीय प्रक्रियामा छैन।’

एमालेबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने चर्चामा उपाध्यक्ष वामदेव गौतम छन्। तर, गौतमले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री बन्ने सुनिश्चितताको स्थितिमा मात्रै एमालेले उम्मेदवारी दिनसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया