काठमाडौँँ – आउँदो दश महिनाभित्र वागग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो ।
गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आइसकेको र आगामी वर्ष बल्खु पुलदेखि सुन्दरी घाटसम्म ढल सञ्चालनमा आएपछि वाग्मती पूर्ण रूपमा ढलमुक्त हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको वाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्रकारले बताउनुभयो ।
उहाँका अनुसार पशुपति क्षेत्र ढल बिछ्याइएको छैन । त्यस्तै, शङ्खमूल, कालमोचन, टेकु पचली जस्ता पुरातात्विक स्थलमा ढल बिछ्याउन नपाइने भएकाले सो क्षेत्रमा एकतर्फी मात्र बिछ्याइएको पनि उपप्रमुख चित्रकारले बताउनुभयो ।
वाग्मती नदीको कुल कार्य क्षेत्रको लम्बाइ २८ किलोमिटर (उपत्यकाभित्र) मध्ये सुन्दरीजलदेखि सुन्दरीघाट खण्डअन्तर्गत २२ किमि निर्माण सम्पन भइसकेको उहाँले बताउनुभयो । वाग्मतीबाट निस्केको ढललाई व्यवस्थित गर्न गुह्येश्वरीमा एक करोड लिटर प्रतिदिन र १९० लिटरप्रति सेकेन्ड कार्य क्षमता भएको ढल प्रशोधन केन्द्र निर्माण भइरहेको चित्रकारले जानकारी दिनुभयो ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल निर्माण, नदी नियन्त्रण, नदीको धार परिवर्तन र बाटो निर्माण, हरियाली क्षेत्र विकास कार्यक्रम तथा नदीको वातावरणीय सुधार कार्य गर्दै आएको छ । वाग्मती नदीमा हालसम्म सडक निर्माण ११.०५ किमि तथा नदी नियन्त्रण ३१.९४ किमि काम भएको छ ।
गोकर्णदेखि गुह्येश्वरी, तिलगङ्गादेखि सिनामङ्गल गैरी गाउँ, सिनामङ्गल गौरी गाउँदेखि मिनभवन, मिनभवनदेखि शङ्खमूल खण्डमा, शङखमूलदेखि थापाथली खण्डमा, थापाथलीदेखि विष्णुमती दोभान खण्डमा र विष्णुमती दोभानदेखि सुन्दरीघाट खण्ड गरी जम्मा सात खण्डमा ठेक्का भएको छ । ठेक्काअनुसार जम्मा दुई अर्ब अठहत्तर करोड रुपियाँ बराबरको कामका लागि सम्झौता भएको छ । आर्थिक वर्ष २०७२÷७३ का अन्त्यसम्म दुई अर्ब चौबीस करोड रुपियाँ खर्च भएको चित्रकारले बताउनुभयो ।
वाग्मती नदी सरसफाइ महाअभियान सुरु भएपछि नदीबाट सङकलित फोहोर करिब आठ हजार मेट्रिक टन (२००औं हप्तासम्म) निकालिएको वाग्मती नदी सरसफाइ महाअभियानकर्ता सन्तोष श्रेष्ठले बताउनुभयो ।