काठमाडौं – राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो ।
गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो । सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए । अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् ।
एचआइभीजस्तै एसआइभी भाइरस
निरन्तरको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसको संक्रमण व्यापक मात्रामा देखाएको छ । कर्माचार्यले अनुसन्धानका क्रममा बाँदरमा व्यापक मात्रामा एसआइभी देखिएको भन्दै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले पशुपति, स्वयम्भू र थापाथलीका बाँदरबाट टाडै रहन सुझाब दिए ।